को हुन गोली हानिएका गुण्डा नाईके दावा लामा
२०६० को दशकमा दावा लामा ठमेलको रोयल किचनमा काम गर्थे । त्यतिवेला रोयल किचन काजी शेर्पाको स्वामित्वमा थियो । दावा रोयल किचनको बाउन्सर हुँदा ठमेलमा मनाङ्गे र चक्रे मिलनको झगडा शुरु भैसकेको थियो ।
उनी मनाङ्गे समुहतिर लागे, जहाँ दिपक मनाङ्गेको दायाँ–बायाँ थिए गणेश लामा र विष्णु लामा । काभ्रेलीको नाताले दावाको संगत गणेश र विष्णुसँग बाक्लियो । दिपक मनाङ्गेको निर्देशन अनुसार ठमेलतिर पैसा उठाउने दावाले पछि मनाङ्गेलाई पनि छाडिदीए ।
काजीलाई गोली हानेको केसमा मनाङ्गे जेल परेपछि गणेश लामाले काभ्रेलीहरुको छुट्टै समुह बनाए । दावा त्यही समुहमा लागे र गणेश लामाको मुख्य सहयोगीको भूमिकामा रहे । काभ्रेली समुहमा रहेर ठमेल, दरबारमार्ग, मैतिदेवी लागयतका स्थानमा हप्ता असुली कार्यमा संलग्न लामा पैसा नदिनेलाई खुकुरी हान्न माहिर थिए ।
०६२/६३ मा तातोपानी नाका हुँदै रक्तचन्दन ओसापसार गर्ने समुहको विगविगी थियो । ठीक त्यही समयमा काभ्रेको दोलालघाट नजिकै पदम थापा लगायतका तीन जना रक्तचन्दन कारोवारीहरु गाडीमै जलेको अवस्थामा भेटिएका थिए । यसमा दावासमेत संलग्न रहेको हुनसक्ने उच्च प्रहरी अधिकृतको भनाई छ ।
यो प्रकरणमा दावा संलग्न रहेको आशंकामा प्रहरीले लामो समय अनुसन्धान गरेको थियो । त्यतिवेला अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृत भन्छन, ‘पदम थापाहरुको साथमा करिब ४० करोड पैसा रहेको र त्यो पैसा दावाको समुहले लुटेको आशंकामा हामीले लामो अनुसन्धान गर्यौं तर खास प्रमाण भेटिएन ।’
सोही घटनापछि दावाको आर्थिक हैसियत अचानक आकाशिएको थियो । हाल राजधानीमा दावाको पाँचवटा घर रहेको उनी निकट स्रोतको भनाई छ । ०७० मा ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई खुकुरी हानेका लामाले सोही बर्ष टेकुका सुनिल अग्रवालको अपहरण गरी करिब ५५ लाखको चेक लगेका थिए ।
काठमाडौं उपत्यकाको गुण्डागर्दीमा कहलीएका दावा लागु औषध ओसापसार मुद्दामा डिल्लीबजार कारागारमा बस्दा खुमबहादुर खड्का बसेको कोठामा बसेका थिए । काभ्रेको सल्ले गाविस–२ स्थायी घर भएका दावाको बास्तविक नाम जितेन्द्र तामाङ हो ।
दावा लामाको नामबाट राजधानीमा गुण्डागर्दी शुरु गरेका उनी ‘क’ श्रेणीको गुण्डा हुन् । राजनितीको आडमा गुण्डागर्दीमा चम्किएका दावालाई काभ्रे–१ बाट निर्वाचित सांसद तिर्थ लामाले संरक्षण गर्ने गरेका थिए ।
पछिल्लो समय दावा र राम गिरीको समुह बीच दरबारमार्गको क्लव डेजावुमा झगडा गरेर पक्राउ पर्दा उनलाई छुटाउन कांग्रेसका सांसद तिर्थ लामाले काठमाडौंका एसएसपी छविलाल जोशीलाई दवाव दिएका थिए । ०७१ भदौ पहिलो साता जोरपाटीबाट खैरो हिरोईनसहीत समातिएका दावा करिब १५ महिना जेल बसेर छुटेका थिए ।
दुई महिनाअघि ठिक आजकै दिन दावा लामा दरबारमार्गबाट पक्राउ परेका थिए । क्लव डेजावुका संचालक अर्का गुण्डा नाईके राम गिरीलाई मध्यराती कुटपिट गरेको भन्दै दरबारमार्ग प्रहरीले पक्राउ गरेर उनलाई ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गरेको थियो ।
त्यतिवेला उनलाई छुटाउन सांसद तिर्थ लामाले तारन्तार दबाव दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशिले तिर्थलाई सान्तवना दिनकै लागी राम गिरीलाई समेत पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा दर्ता गरेर केही दिन हिरासतमा राखिदिएका थिए ।
मंगलबार उनीमाथी गोली चल्नुमा राम गिरीको समेत हात भएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ । गिरी क्लव डेजावु तथा दरबारमार्गमा रहेको भिक्टोरी डिस्कोका संचालक हुन् ।
खैरो हिरोईन मुद्दामा सफाई पाएर छुटेसँगै उनले काभ्रेको तिमाल क्षेत्रको बुद्धचित्तमालामा एकछत्र राज गर्नुका साथै बौद्ध क्षेत्रका जुवा अड्डा सञ्चालन गर्दै आएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्