सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाँच भाई पाण्डवको राजपा, पार्टी अर्कैको नाममा

नवगठित राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले एकता प्रक्रियामा सहभागी दलका नेताहरुलाई महाभारत युद्धका पाँच पाण्डवसँग तुलना गरेका छन् । उनले राज्यले युद्ध सुरु गरेको भन्दै सो युद्धलाई अब आफूहरुले अन्त्य गर्ने उदघोष समेत गरेका छन ।

‘महन्थ ठाकुर युधिष्ठिर हुन् । महेन्द्र राय यादव भिष्म हुन् । शरदसिंह भण्डारी अर्जुन हुन् । हामीसँग राजेन्द्र महतो पनि छन,’ बिहीबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै यादवले भने, राज्यले युद्ध सुरु र्गयो अब अन्त्य हामी गछौं ।’

अधिकार प्राप्तिको लडाईंमा आफूहरुको जित सुनिश्चित भएको भन्दै यादवले भने, ‘यो पाँच पार्टीकोमात्र होइन, मधेस जनविद्रोहको एकता हो ।’ राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने बाध्यकारी कानून बनेपछि साना दलहरु धमाधम एकता प्रक्रियामा सामेल भएका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) केही दिनअघि मात्र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता गरी संसदमा पाँचौं ठूलो दल बनेको थियो ।

संसदको पाँचौं ठूलो दल बनेको गच्छदार नेतृत्वको पार्टीमा विहीबार पुनः थरुहट तराई पार्टीका गोपाल दहित पनि मिसिए । दहित मिसिएपछि गच्छदारको पार्टीमा सांसदको संख्या १८ पुगेको छ ।

पाँचौं ठूलो दल बनेर हौसिएका गच्छदारलाई माथ गर्दै विहीबार मधेसको प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल एक भएपछि गच्छदारको पार्टी संसदमा छैंठौं दल बन्न पुगेको छ ।

तराई मधेसमा लामो समय संघर्ष गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये ६ दल एकतावद्ध भएपछि गच्छदारलाई झड्का लागेको हो । विहीबार एकता घोषणा गरिएपछि दलको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बनाइएको छ ।

एकतापछि बनेको राजपा गच्छदारलाई माथ गर्दै संसदको पाँचौं ठूलो दल बनेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी गठन गरिएको हो ।

अब संसदमा राजपाको २५ सिट भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावनाको ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी एक एक सिट रहेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने मधेसी दलहरुको एकतामा सहभागी भएको छैन । उपेन्द्र नेतृत्वको फोरम डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा एकता गर्ने तरखरमा छ । नयाँ शक्तिमा एक एक सिट रहेका दुई पार्टी एक भइसकेका छन् ।

संघीय समाजवादी फोरमको संसदमा १५ सिट रहेको छ । विभिन्न पार्टीहरुबीच एकतापछि ३२ दल रहेको संसदमा अब २२ दल मात्र हुने भएका छन ।

मधेशवादी दलहरुले पार्टी एकतापछी दलको नाम राजपा राखे पनि यो नामको पार्टी एक बर्ष अघि नै निर्वाचन आयोगमा दर्ता भईसकेको पाईएको छ । नेत्र बहादुर लिम्बु अध्यक्ष रहेको राजपालाई संविधानअनुसार नै निर्वाचन आयोगले दलको कार्य समिति, विधान र झण्डालाई प्रमाणित गरी दर्ता गरेको पाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्