सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिराटनगरमा पर्शुरामदेखि बुढाबुढीसम्म मेयर आकांक्षि

बिराटनगर उपमहानगरपालिकामा मेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेलाई हम्मेहम्मे परेको छ । मेयरको उम्मेदवारमा १२ जना आकांक्षी देखिएका छन, जसमा युवा संघका परशुराम बस्नेत समेत छन् ।

रोचक त के छ भने मेयर–उपमेयरमा श्रीमान–श्रीमतीकै नाम नगर कमिटीबाट आएको छ । एमाले स्रोतका अनुसार निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मीको नाम पनि मेयरमा सिफारिस भएको छ । उनकी पत्नी सावित्रा रेग्मीको नाम भने उपमेयरमा सिफारिस भएको छ ।

उम्मेदवारका लागि १२ जनाको नाम नगरसमितिमा आएको छ । एमाले नगर कमिटीका अनुसार व्यक्तिगत प्रभाव र नेताहरुको दबावका कारण १२ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

नगरसमितिले जिल्ला कमिटीमा सबै नाम पठाएको छ । मेयरमा जिल्ला अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, नगर इञ्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्कीका साथै तारा निरौला, खेम नेपाली, नन्दिकेशर भण्डारी र सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलको नाम पनि सिफारिस भएको छ ।

यस्तै विगतमा गुण्डा नाइके भनेर चिनिएका र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत खेपिसकेका युवा संघका केन्द्रीय सचिव पर्शुराम बस्नेतको नाम पनि मेयरमा सिफारिस भएको छ । अनेरास्ववियुका सचिव वसिम आलम र कानून व्यवसायी चूडामणि आचार्यको नाम पनि मेयरमा सिफारिस भएको छ ।

नगर कमिटीबाट आएका नाममाथि जिल्ला समितिमा छलफल हुनेछ र प्रदेश कमिटीमा पठाईनेछ । एमालेका विद्यार्थी नेता वसिम आलम पछिल्लो समयमा चर्चामा आएको नाम हो । केही दिनअगाडि भएको नगरसमितिको भेलामा उनको नाम मेयरमा चर्चामा आएको थियो ।

आलमसँगै युवा संघका नेता पर्शुराम बस्नेत पनि आकांक्षीको लर्कोमा प्रवेश पाएका हुन् । कतिपयले भने नगरमा आफ्नो प्रभाव देखाउनकै लागि दबावका भरमा नाम सिफारिस गर्न लगाएको दाबी गरेका छन् ।

नगर समितिका इञ्चार्ज सागर थापाले अन्तिम समयमा मेयरका लागि बढी नाम सिफारिस भएको जानकारी दिए पनि को–को सिफारिस भए भने खुलाउन चाहेनन् ।

नगर बैठकले उपमेयरमा चारजनाको नाम सिफारिस गरेको छ । थापाका अनुसार उपमेयरमा विमला घिमिरे, सावित्रा रेग्मी, लिला रिजाल र शिल्पा कार्कीको नाम सिफारिस गरिएको छ । विमला घिमिरे जिल्ला कमिटी सदस्य जीवन घिमिरेकी श्रीमती हुन् भने रिजाल जिल्ला कमिटी सदस्य र शिल्पा महिला उद्यमी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्