सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

उत्तर कोरीयाको पक्षमा उभिए चीन र रुस

उत्तर कोरियाको सवालमा अमेरिकाले गरिरहेको बक्तव्यवाजीप्रति रुस र चीन दुवैले अमेरिकालाई कडा चेतावनी दिएका छन् । शुक्रबार बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विशेष बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कदमको परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

रुसी सहायक विदेशमन्त्री ‘गेनी गिलेताव’ ले सयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका र उत्तर कोरियाको गतिविधितर्फ इंगित गर्दै भने ‘उग्र किसिमको बक्तव्यवाजी र शक्ति प्रर्दशनले संसारमा यस्तो स्थिति सिर्जना भइसकेको छ की, कोरियाली प्रायद्वीपमा युद्ध होला की नहोला भन्ने कुरा हरेकको दिमागमा बसिरहेको छ ।’

यसै सुरक्षा परिषद्को बैठ्कमा बोल्दै चिनिया विदेश मन्त्री ‘वाङ जी’ले पनि उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको खतरालाई बहाना बनाइ गरिने कुनै पनि किसिमको सैन्य कार्वाही आफूलाई मान्य नहुने चेतावनी दिए । उनले भने ‘शक्तिको प्रयोगले कुनैपनि समस्या समाधान हुँदैन । यस्ता कदमले झन ठूला समस्या निम्त्याउँछ ।’

अमेरिकाका विदेशमन्त्री ‘रेक्स टेलरसन’ले सुरक्षा परिषदलाई सम्बोधन गर्दै उत्तर कोरिया विरुद्धको कारवाहीमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । उनले चीनले उत्तर कोरियामाथि रहेको आफ्नो प्रभावको प्रयोग गरेर उत्तर कोरियाको बिनाशक हतियार नष्ट गर्न दवाव दिनुपर्ने धारणा व्यक्त गरे ।

टेलरसनले चीनले पनि उत्तर कोरियामाथि व्यापार, सहयोग लगायतका कुरामा प्रतिबन्ध लगाउनु पर्ने कुरातर्फ संकेत गर्दै उत्तर कोरियाको व्यालेष्टिक मिसाइल कार्यक्रमलाई निस्तेज पार्नका लागि उसलाई व्यापक दबाव सिर्जना गर्न अभियान चलाउनु पर्ने मागे गरेका छन ।

टेलरसनले अगाडि भने, ’संसारको सुरक्षा खतरासँग जोडिएको यस मुद्दामा अहिले कारवाही गर्न रोकिए यसको परिणाम विनाशकारी हुन्छ ।’ ‘दक्षिण कोरिया र जापानमाथि उत्तर कोरियाद्वारा परमाणु हमला गर्ने खतरा निकै रहेको र उसले अमेरिकी इलाकामा समेत आक्रमण गर्न सक्ने गरी शक्ति विस्तार गरिरहेकाले यस कार्यमा उसलाई रोक्नु जरुरी छ ।’

सुरक्षा परिषदमा टेलरसनले भने ‘अनेकौं प्रतिबन्ध र चेतावनीलाई उत्तर कोरियाले वेवास्ता गर्दै आएकाले उसमाथि नयाँ किसिमको दवाव सिर्जना गर्न खतरनाक बाटो अपनाउने समय आएको छ ।’ उत्तर कोरियाले कुनै कदम चाल्नु अगावै उसमाथि कारवाही गनुपर्ने भएकाले त्यसका लागि सहयोग गर्न टेलरसनले अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS