सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कतारमा नेपाली आत्तिनुपर्दैन तर सजग रहनुस

सोमबार साउदी अरव, इजिष्ट, बहराइन, युएइ, लिविया र यमनले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेका छन । गल्फ गठबन्धनको अन्त्य भएको घोषणासँगै कतारमा रहेका नेपाली कामदारहरुलाई असर पर्ला कि नपर्ला भन्ने विषयले सबैको ध्यान तानेको छ ।

नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारमा ७ देखि ८ लाखसम्म नेपालीहरु रहेको बताईएको छ । ६ वटा मुलुकहरुले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि त्यहाँ बस्दै आएका नेपालीमाथि स्वत; प्रभाव पर्ने विज्ञहरुले बताएका छन् ।

नेपाली कामदाहरुमाथि प्रभाव परेपनि तत्काल आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनीहरुले बताएका छन । कतारमा रहेका नेपालीमध्ये धेरैजसो ड्राइभर छन । अधिकांश ड्राइभरहरुले ठूला लहरी चलाउँछन् । उनीहरुको काम भनेको कतारबाट साउदी सामान ओसारपसार गर्नु हो ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले लहरी चलाउने चालकहरुलाई केही असर गर्ने बताएका छन । गुरुङका अनुसार नेपाली कामदार कतार एयरपोर्टभित्र पनि ट्रली ब्वाइ, ग्राउण्ड ह्यान्डलिङ जस्ता काम गर्छन । कतिपय देशमा कतारले उडान नभरेको खण्डमा उनीहरुको अवस्था पनि के हुन्छ भनेर सोच्नुपर्ने अवस्था छ ।

यसका अलावा बहराइन, युएइ र साउदी अरवमा कतार एयरवेजमा काम गर्ने नेपाली छन । ती देशहरुमा उडान नै नभरेपछि ती कर्मचारीलाई कतार एयरवेजले स्वदेश फिर्ता पठाउला कि अन्य स्थानमा खटाउला भन्ने प्रश्नचिन्ह पनि खडा भएको छ ।

कतारमा दैनिक जीवनमा उपयोग गरिने खाद्यान्न अधिकांश साउदीबाट नै आउने गर्छ । केहीदिनपछि ती सामानहरुको अभाव हुने र नेपाली कामदारको तलवले त्यसलाई धान्न नसक्ने गुरुङ बताउँछन ।

‘अहिले नै नेपाली कामदार आत्तिहाल्नुपर्ने अवस्था छैन,’ गुरुङले भने, ‘त्यसका लागि कामदारको अवस्था बुझ्न सरकारले पनि चासो दिनुपर्छ ।’

कतारमा कामदारलाई पर्ने समस्याका विषयमा संघले नजिकबाट नियालीरहेको र कतार कामदार पठाउने म्यानपावरलाई आफ्ना कामदारको बारेमा बुझ्न निर्देशन दिइसकेको गुरुङले बताएका छन ।

तत्काल कतारसँग ६ राष्ट्रले कुटनीतिक सम्बन्ध अन्त्य गरे कतारको अर्थतन्त्रमा ठूलो असर पर्ने उनले बताएका छन । त्यस्तै अवस्था रहिरहे नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नभएको उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले काठमाडौंबाट कतार जाने धेरै एयरलाइन्सहरु यमन, दिल्ली, युएइ ट्रान्जिट भएर जाने हुदाँ नेपाली कामदारलाई केही समस्या पर्ने बताएका छन ।

उनले पनि लहरी चलाउने नेपाली कामदारलाई सबैभन्दा बढी समस्या पर्ने बताएका छन । १ महिनासम्म यही अवस्था रहे स्थिति विकराल हुने उनले बताए ।

नेपाली कामदारले कमाएको रकमले खान समेत नपुग्ने स्थिति आउन सक्ने बलबहादुर तामाङले बताए । अहिले देखिएको समस्या कुटनीतिक तहबाट समाधान नभए कतारमाथि आक्रमण हुन सक्ने भन्दै त्यसबेला नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नभएको बताएका छन ।

ठूलो संख्यामा रहेका नेपाली कामदार स्वदेश फिर्ती भए कतारको आर्थिक क्षेत्र झन डामाडोल हुने तामाङको भनाइ छ । कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि ६ देशले १४ दिनभित्र कतार छाड्न सम्बन्धित देशले आफ्ना नागरिकसँग आग्रह गरिसकेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS