पेट्रोल, डिजेलमा आयल निगमले मुल्य घटायो
नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।
निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ । यसअघि १०१ रुपैयाँ ५० पैसा प्रति लिटर रहेको पेट्रोलमा १ रुपैयाँ ५० पैसा मूल्य घटाइएको आयल निगमले बताएको छ ।
यस्तै डिजेल र मट्टीतेल लिटरमा १ रुपैयाँ ५० पैसा सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेल प्रतिलिटर ७७ रुपैयाँ ५० पैसामा पाइन्थ्यो ।
एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेशनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।
त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकालेर तेल सस्तो बनाएको हो । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ ।
निगमले नयाँ मूल्यअनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ पैसा सस्तो मुल्यमा तेल उपलब्ध गराइरहेको छ ।
त्यसैकारण अहिले नेपालबाट तेल तस्करी भएर भारत जाने गरेको दाबी निगमको छ । मूल्य धेरै घटाउँदा तेलको तस्करी उच्च हुने निगमका अधिकारीहरू बताउँछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्