सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय सेनाले दार्जिलिङ्गमा तीन जनालाई मार्यो

दार्जिलिङमा चर्किएको आन्दोलनका क्रममा शनिवार सेनाले चलाएको गोली लागेर तीन जना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको छ । गोर्खा जनमुक्ति मोर्चाको पातलेवासस्थित कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चा समर्थक र सुरक्षाकर्मीवीच विहानैदेखि सिंगमारी क्षेत्रमा झडप भएको थियो ।

करिव डेढ घण्टा भएको झडपमा आक्रोसित प्रदर्शनकारीले ढुंगामुडा गरेपछि सुरक्षाकर्मीले पहिला अश्रु ग्यास र पछि अन्धाधुन्द गोली बर्साएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का सहसचिव विनय तामाङले बताएका छन ।

उनका अनुसार सेनाको गोलीवाट दाजिलिङको गोक वस्तीका विमल शाहसंकर र कैजलेका सुनिल राईको घटनास्थलमै र रेलिङ वस्तीका महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा मृत्यु भएको हो । घटनामा १२ जनाभन्दा वढी घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडी लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा एक सुरक्षा अधिकारीको मृत्यु भएको भनिए पनि सुरक्षा स्रोतले पुष्टी गरेको छैन । बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ट्वीटमार्फत आइआरवी कमान्डेन्ड किरण तामाङ घाइते भएको जानकारी गराएकी छन् ।

उनले शनिवार कोलकातामा दार्जिलिङका विभिन्न जातीय वोर्डका प्रतिनिधिसँगको छलफलमा आतंकवादी संगठनहरुसंग गोजमुमोको साठगाठ रहेको आरोप लगाइन् । उनले आतंकवादी संगठनकै अगुवाईमा दार्जिलिङमा हिंसा भडकिएको उनको आरोप छ । उनले मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसंग रहेको दाबी गरेकी छन् ।

अलग राज्य गोर्खाल्याण्डको मागका कारण सिंगो दार्जिलिङ आन्दोलित छ । शनिबारको हत्या घटनाविरुद्ध गोर्खाल्यान्ड समर्थक सडकमा निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दार्जिलिङसहित खरसाङ, कालेबुङ र मिरिकमा समर्थकले स्वतस्फूर्त जुलुस प्रदर्शन गरेका छन् । दार्जिलिङमा अहिले सेनासहित करिव ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गोजमुमोका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलन अब निर्णायक हुने बताएका छन । उनले आन्दोलनलाई हिंसात्मक बनाउन बंगाल सरकारले षडयन्त्र गरिरहेको आरोप लगाएका छन । पश्चिम वंगाल सरकारले राज्यका सवै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठन पाठनलाई अनिवार्य गर्ने निर्णय लिएपछि दार्जिलिङका नेपालीभाषी आन्दोलित बनेका हुन् ।

एक दशकदेखि गोर्खाल्याण्ड आन्दोलनको अगुवाई गर्दै आएको गोजमुमोले भाषा विवादसँगै छुट्टै राज्यको आन्दोलन चर्काएको हो । मोर्चाले गोर्खाल्याण्ड प्राप्तिका लागि यो अन्तिम लडाईँ हुने दावी गरेको छ ।

‘अवको आन्दोलन निर्णायक हुनेछ’, मोर्चाका अध्यक्ष तथा गोर्खाल्याण्ड आन्दोलनका कमाण्डर बिमल गुरुङले भने, ‘अव गोर्खाल्याण्ड बाहेक कुनै कुरामा सम्झौता हुँदैन । वार कि पार हुन्छ ।’ उनले आन्दोलन सफल बनाउन सवै विपक्षी दललाई आव्हान पनि गरेका छन् ।

उनले दार्जिलिङका बिभिन्न जातीय विकास वोर्डमा आवद्ध कार्यकर्तारुलाई पनि वोर्ड छाडेर आन्दोलनमा एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्