बहसमा रुकुम, नयाँ जिल्ला बनाउने कि विलय हुने
विवादकाबीच संविधानमै दुई चिरा पारिएको रुकुमको एउटा भूगोल अब छुट्टै जिल्ला बन्ने कि अरु जिल्लामा गाभिएला भन्ने विषयले फेरि चर्चा पाउन थालेको छ ।
माओवादी द्वन्दकाल देखी स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा रुकुममा माओवादीको बोलवाल छ । जिल्लाका हरेक निति निर्माणमा माओवादीको बैधानिक रुपमै एकलौटी निर्णय हुँदै आएको छ ।
रुकुमबाट केन्द्रमा नेतृत्व गर्ने हिसावले र जनमतका हिसाबले पनि रुकुममा माओवादीको बोलवाला हुनु स्वभाविक नै हो । माओवादी केन्द्रबाट केन्द्रिय तहमा जनार्दन शर्मा, गणेशमान पुन, लोकेन्द्र बिष्ट लगायतका प्रभावशाली नेताहरुको सहभागीता छ ।
माओवादी नेताहरुको तुलनामा अन्य पार्टीबाट त्यो बराबरको व्यक्तित्व भएका नेताहरुको जन्म भएको छैन । नेताहरुको प्रोफाईल र जनमतका हिसावले रुकुममा माओवादी एकाधिकारलाई सहयोग पुगेको छ । र यही प्रबृति रुकुम बिभाजन गर्ने कि नगर्ने भन्ने बिषयमा पनि लागु भएको छ ।
जिल्ला विभाजनका बेला जिल्लामा तीन थरी आन्दोलन चलेका थिए । सदरमुकाम मुसिकोट रहेको क्षेत्रका नागरिकहरुले सिंगो जिल्ला एक रहनु पर्ने र त्यो ५ नम्बर प्रदेशमा रहनु पर्ने भन्ने थियो ।
अर्कोतर्फ पूर्वी रुकुमबासीहरु पहिलेदेखि नै पश्चिमेहरुले आफूहरुलाई हेपेको भन्दै रुकुमको सबै वा त्यो नभए पनि पूर्वी रुकुमलाई पोखरा केन्द्र रहेको प्रदेशमा राख्न उपयुक्त हुने तर्क राख्दै आएका थिए ।
अर्को भागमा रुकुमको सुदूरपश्चिम क्षेत्र थियो जसले सबै रुकुम नभएपनि पश्चिम रुकुमलाई ६ नम्बर प्रदेशमा समेट्नु पर्ने मत राखेको थियो ।
रुकुमलाई दुईवटा प्रदेशमा बिभाजन गर्ने कि नगर्ने भनेर लामो बहस भएको थियो अन्ततः टुक्राइयो । पश्चिम रुकुम ६ नं. प्रदेशमा गाभियो भने पूर्वी रुकुम ५ नं. प्रदेशमा पारियो ।
त्यसपछि ६ नम्बर प्रदेशमा पर्ने पश्चिम रुकुमको नेतृत्व जनार्दन शर्मा ‘प्रभाकर’ र ५ नम्बर प्रदेशमा पर्ने पूर्वी रुकुमको नेतृत्व गणेशमान पुनले गर्दै आएका छन् ।
प्रदेश नम्बर ६ मा पर्ने पश्चिम रुकुमको भूगोलमा मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिका पर्दछन् ।
प्रदेश नम्बर ५ मा सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका पर्दछन् । निर्वाचन आयोगको रेकर्डअनुसार ६ नम्बर प्रदेशमा पर्ने रुकुमका स्थानीय तहको कुल जनसंख्या १ लाख ५४ हजार २७२ छ । जबकी पाँच नम्बर प्रदेशमा पर्ने रुकुमका तीन गाउँपालिकाको जनसंख्या ५३ हजार १८ छ ।
संविधानमै उल्लेख गरी रुकुम जिल्ला विभाजन भए पनि प्रशासनिक कामहरु भने हालसम्म पनि पुरानै सदरमुकाम मुसिकोटबाट हुँदै आएको छ । मुसिकोट ६ नम्बर प्रदेशमा पर्दछ तर, पाँच नम्बर प्रदेशमा पर्ने रुकुमका तीन गाउँपालिकाको चुनावी गतिविधि भने मुसिकोटबाटै भयो ।
स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा नहुने भएपछि रुकुम जिल्लामा के हुन्छ भन्ने सबैको कौतुहलता मेट्दै पूर्वी रुकुम र पश्चिम रुकुममा फरक समयमा निर्वाचन भइसकेको छ ।
जिल्लाका सबै प्रशासनिक कामकाज पुरानै जिल्ला सदरमुकामबाट भइरहेको नागरिकहरुका त्यस्तो फरक अनुभूति भएको थिएन । तर, एकै जिल्लामा दुई चरणमा निर्वाचन भएपछि धेरैलाई असहज त लाग्यो ।
एक जिल्लामा दुई चरणका निर्वाचन भएपछि व्यवहारिक रुपमै रुकुमेलीहरु बिभाजित मानसिकतामा छन् । रुकुमका समाजसेवी लजिम पुन भन्छन, ‘अब रुकुम बिभाजित भइसकेको छ । पूर्वी रुकुम भूगोल, संस्कृति, आर्थिक श्रोत सबै हिसाबले अर्को जिल्ला बनाउन लायक छ ।’
अरुमा गाभिनु भन्दा अलग जिल्लामा रुचि
सदरमुकाम रहेकैले पनि होला पश्चिम रुकुमका बासिन्दा आफूहरु कतै गाभिनु नपर्ने कुरामा ढुक्क नै छन् । उनीहरु यो विषयमा छलफल र बहस गरेको देखिँदैनन् । तर पूर्वी रुकुममा भने आफूहरु अर्को जिल्लामा मिसिन जानुपर्ने हो कि भन्ने मनोवैज्ञानिक चिन्ता छ ।
पहिले पनि पश्चिम रुकुम र सदरमुकामबाट सँधै हेपिँदै आएको महसुस गरेका पूर्वेलीहरुलाई अर्को जिल्लामा गाभिँदा फेरि सौतेलो व्यवहारमा परिने हो कि भन्ने भय छ । त्यसैले पश्चिम रुकुमलाई फरक जिल्ला बनाउने छलफल सुरु भएको छ ।
पूर्वी रुकुमबाट प्रत्यक्ष निर्वाचित सांसद एवम् पूर्वमन्त्री गणेशमान पुन पनि सिंगो रुकुम एक नहुने भएपछि छुट्टै जिल्ला बनाउन सकारात्मक देखिएका छन् । तर अहिले यो विषय छलफलकै क्रममा रहेको उनको भनाइ छ ।
‘अहिले यो विषयमा अनौपचारिक छलफल भइरहेको थियो अब औपचारिक रुपमै छलफल सुरु हुन्छ,’ पुनले भने, ‘के गर्ने भन्ने टुंगो लागिसकेको छैन । छलफल जारी छ ।’
माओवादीका रुकुम जिल्ला सचिवसमेत रहेका भुमे गाउँपालिकाका अध्यक्ष रामशुर बुढा ‘विरता’ भने अलग जिल्ला बनाउन उपयुक्त हुने धारणा राख्छन् । आफ्नो भूगोल, सँस्कृति, पहिचान लगायतका कुराहरु फरक रहेकाले पूर्वी रुकुमलाई छुट्टै जिल्लाको मान्यता दिनुपर्ने उनको धारणा छ ।
‘जिल्लाको पूर्वी क्षेत्रका प्रभावशाली नेताहरु पनि यो कुरामा सकारात्मक हुनुहुन्छ, हामी सबैसँग कुरा गरिरहेका छौं,’ पाँच नम्बर प्रदेशमा पारिएको भुमे गाउँपालिकाका अध्यक्ष बुढाले बताए ।
भौगोलिक हिसाबले समेत ठूलो क्षेत्र ओगटेको हुनाले पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन सकिने सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल पनि तर्क गर्द्छिन् ।
पूर्वी रुकुमकै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकास घर्तीले पनि जल, जमिन र जडीबुटीले सम्पन्न क्षेत्र भएकाले छुट्टै जिल्ला बनाउँदा कुनै फरक नपर्ने बताए ।
(यो समाचार अनलाईखबरका लागी रुकुमबाट टेकबहादुर वलीले लेखेका हुन ।)
फेसबुकबाट कमेन्ट गर्नुहोस्