सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बहसमा रुकुम, नयाँ जिल्ला बनाउने कि विलय हुने

विवादकाबीच संविधानमै दुई चिरा पारिएको रुकुमको एउटा भूगोल अब छुट्टै जिल्ला बन्ने कि अरु जिल्लामा गाभिएला भन्ने विषयले फेरि चर्चा पाउन थालेको छ ।

माओवादी द्वन्दकाल देखी स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा रुकुममा माओवादीको बोलवाल छ । जिल्लाका हरेक निति निर्माणमा माओवादीको बैधानिक रुपमै एकलौटी निर्णय हुँदै आएको छ ।

रुकुमबाट केन्द्रमा नेतृत्व गर्ने हिसावले र जनमतका हिसाबले पनि रुकुममा माओवादीको बोलवाला हुनु स्वभाविक नै हो । माओवादी केन्द्रबाट केन्द्रिय तहमा जनार्दन शर्मा, गणेशमान पुन, लोकेन्द्र बिष्ट लगायतका प्रभावशाली नेताहरुको सहभागीता छ ।

माओवादी नेताहरुको तुलनामा अन्य पार्टीबाट त्यो बराबरको व्यक्तित्व भएका नेताहरुको जन्म भएको छैन । नेताहरुको प्रोफाईल र जनमतका हिसावले रुकुममा माओवादी एकाधिकारलाई सहयोग पुगेको छ । र यही प्रबृति रुकुम बिभाजन गर्ने कि नगर्ने भन्ने बिषयमा पनि लागु भएको छ ।

जिल्ला विभाजनका बेला जिल्लामा तीन थरी आन्दोलन चलेका थिए । सदरमुकाम मुसिकोट रहेको क्षेत्रका नागरिकहरुले सिंगो जिल्ला एक रहनु पर्ने र त्यो ५ नम्बर प्रदेशमा रहनु पर्ने भन्ने थियो ।

अर्कोतर्फ पूर्वी रुकुमबासीहरु पहिलेदेखि नै पश्चिमेहरुले आफूहरुलाई हेपेको भन्दै रुकुमको सबै वा त्यो नभए पनि पूर्वी रुकुमलाई पोखरा केन्द्र रहेको प्रदेशमा राख्न उपयुक्त हुने तर्क राख्दै आएका थिए ।

अर्को भागमा रुकुमको सुदूरपश्चिम क्षेत्र थियो जसले सबै रुकुम नभएपनि पश्चिम रुकुमलाई ६ नम्बर प्रदेशमा समेट्नु पर्ने मत राखेको थियो ।

रुकुमलाई दुईवटा प्रदेशमा बिभाजन गर्ने कि नगर्ने भनेर लामो बहस भएको थियो अन्ततः टुक्राइयो । पश्चिम रुकुम ६ नं. प्रदेशमा गाभियो भने पूर्वी रुकुम ५ नं. प्रदेशमा पारियो ।

त्यसपछि ६ नम्बर प्रदेशमा पर्ने पश्चिम रुकुमको नेतृत्व जनार्दन शर्मा ‘प्रभाकर’ र ५ नम्बर प्रदेशमा पर्ने पूर्वी रुकुमको नेतृत्व गणेशमान पुनले गर्दै आएका छन् ।

प्रदेश नम्बर ६ मा पर्ने पश्चिम रुकुमको भूगोलमा मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिका पर्दछन् ।

प्रदेश नम्बर ५ मा सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका पर्दछन् । निर्वाचन आयोगको रेकर्डअनुसार ६ नम्बर प्रदेशमा पर्ने रुकुमका स्थानीय तहको कुल जनसंख्या १ लाख ५४ हजार २७२ छ । जबकी पाँच नम्बर प्रदेशमा पर्ने रुकुमका तीन गाउँपालिकाको जनसंख्या ५३ हजार १८ छ ।

संविधानमै उल्लेख गरी रुकुम जिल्ला विभाजन भए पनि प्रशासनिक कामहरु भने हालसम्म पनि पुरानै सदरमुकाम मुसिकोटबाट हुँदै आएको छ । मुसिकोट ६ नम्बर प्रदेशमा पर्दछ तर, पाँच नम्बर प्रदेशमा पर्ने रुकुमका तीन गाउँपालिकाको चुनावी गतिविधि भने मुसिकोटबाटै भयो ।

स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा नहुने भएपछि रुकुम जिल्लामा के हुन्छ भन्ने सबैको कौतुहलता मेट्दै पूर्वी रुकुम र पश्चिम रुकुममा फरक समयमा निर्वाचन भइसकेको छ ।

जिल्लाका सबै प्रशासनिक कामकाज पुरानै जिल्ला सदरमुकामबाट भइरहेको नागरिकहरुका त्यस्तो फरक अनुभूति भएको थिएन । तर, एकै जिल्लामा दुई चरणमा निर्वाचन भएपछि धेरैलाई असहज त लाग्यो ।

एक जिल्लामा दुई चरणका निर्वाचन भएपछि व्यवहारिक रुपमै रुकुमेलीहरु बिभाजित मानसिकतामा छन् । रुकुमका समाजसेवी लजिम पुन भन्छन, ‘अब रुकुम बिभाजित भइसकेको छ । पूर्वी रुकुम भूगोल, संस्कृति, आर्थिक श्रोत सबै हिसाबले अर्को जिल्ला बनाउन लायक छ ।’

अरुमा गाभिनु भन्दा अलग जिल्लामा रुचि

सदरमुकाम रहेकैले पनि होला पश्चिम रुकुमका बासिन्दा आफूहरु कतै गाभिनु नपर्ने कुरामा ढुक्क नै छन् । उनीहरु यो विषयमा छलफल र बहस गरेको देखिँदैनन् । तर पूर्वी रुकुममा भने आफूहरु अर्को जिल्लामा मिसिन जानुपर्ने हो कि भन्ने मनोवैज्ञानिक चिन्ता छ ।

पहिले पनि पश्चिम रुकुम र सदरमुकामबाट सँधै हेपिँदै आएको महसुस गरेका पूर्वेलीहरुलाई अर्को जिल्लामा गाभिँदा फेरि सौतेलो व्यवहारमा परिने हो कि भन्ने भय छ । त्यसैले पश्चिम रुकुमलाई फरक जिल्ला बनाउने छलफल सुरु भएको छ ।

पूर्वी रुकुमबाट प्रत्यक्ष निर्वाचित सांसद एवम् पूर्वमन्त्री गणेशमान पुन पनि सिंगो रुकुम एक नहुने भएपछि छुट्टै जिल्ला बनाउन सकारात्मक देखिएका छन् । तर अहिले यो विषय छलफलकै क्रममा रहेको उनको भनाइ छ ।

‘अहिले यो विषयमा अनौपचारिक छलफल भइरहेको थियो अब औपचारिक रुपमै छलफल सुरु हुन्छ,’ पुनले भने, ‘के गर्ने भन्ने टुंगो लागिसकेको छैन । छलफल जारी छ ।’

माओवादीका रुकुम जिल्ला सचिवसमेत रहेका भुमे गाउँपालिकाका अध्यक्ष रामशुर बुढा ‘विरता’ भने अलग जिल्ला बनाउन उपयुक्त हुने धारणा राख्छन् । आफ्नो भूगोल, सँस्कृति, पहिचान लगायतका कुराहरु फरक रहेकाले पूर्वी रुकुमलाई छुट्टै जिल्लाको मान्यता दिनुपर्ने उनको धारणा छ ।

‘जिल्लाको पूर्वी क्षेत्रका प्रभावशाली नेताहरु पनि यो कुरामा सकारात्मक हुनुहुन्छ, हामी सबैसँग कुरा गरिरहेका छौं,’ पाँच नम्बर प्रदेशमा पारिएको भुमे गाउँपालिकाका अध्यक्ष बुढाले बताए ।

भौगोलिक हिसाबले समेत ठूलो क्षेत्र ओगटेको हुनाले पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन सकिने सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल पनि तर्क गर्द्छिन् ।

पूर्वी रुकुमकै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकास घर्तीले पनि जल, जमिन र जडीबुटीले सम्पन्न क्षेत्र भएकाले छुट्टै जिल्ला बनाउँदा कुनै फरक नपर्ने बताए ।

(यो समाचार अनलाईखबरका लागी रुकुमबाट टेकबहादुर वलीले लेखेका हुन ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS