एकपाथी गहुँ र एक डोका मकैः बालिघरे जिन्दगी
झिमरुक गाउँपालिका–१ सौतामारे प्यूठानका थम्मने विक ६५ वर्षका भए । उनले बालीघरे जीवन गुजारिरहेको करिब तीन दशक भइसक्यो । उमेरले साथ दिँदासम्म उनी यसैलाई निरन्तरता दिने सोचमा छन् । नौ छोरा, तीन छोरी र श्रीमतीसहित १४ जनाको परिवार बालीघरेबाटै उठेको अन्नले धानिएको थियो ।
अहिले तीन छोरी र पाँच छोराको विवाह भइसक्यो । हाल चार छोरा र श्रीमतीलाई पाल्ने प्रमुख स्रोत यही बालीघरे बनिरहेको छ । उनी बिहानै आरनमा पुग्छन् । चिसोको मौसममा आगो ताप्दै फलाम पिट्छन । गाउँमा सात÷आठ आरन भएपनि उनकैमा बढी ग्राहक पुग्ने गर्छन् ।
‘जिजु, बाजेले थालेको पेशा धानिएकै छ’,उनले भने,‘अरु पेशा गर्ने मन नै लागेन् ।’ वर्षभरी काम गरेर मौसमको बेला एकडोका मकै र एकपाथी गहुँ लिने गरेको उनले जानकारी गराए । उनको खेतबारी धेरै छैन् । बालीघरेबाटै जुटेको अन्नले परिवार चलिरहेको छ ।
हँसिया, कोदाला, खुडा, बञ्चरो बनाउने गरेको उनले बताए । विकले एक दिनमा जसोतसो दुई÷तीन वटा हसिँया बनाउन भ्याउँछन् । ‘गुजारा चलाउन गाह्रो छैन’,विक भन्छन्,‘तर, कमाइ कत्ति पनि हुँदैन् ।’
पैसा लिएर फलाम पिटाउन ग्राहक नआउने गरेको उनको अनुभव छ । गाउँका सबैले अन्नबाटै फलाम पिटाउने गरेका छन् । थम्मने विक कहाँ फुर्सेधारा, तल्लाखर्का, भुजेलबास, तालेघर र गहतेराका स्थानीयले हसियाँ पिटाउन आउने गर्छन् । फलाम तताउनका लागि उनले स्थानीय सामुदायिक वनबाट सल्लाको बोक्रा ल्याउँछन् । गाउँमा बाली भित्रिएको खबर पाएपछि उनी डोका बोकेर अन्न ल्याउन घरघरमा पुग्छन् ।
सौतामारे क्षेत्रका दर्जनजति दलित समुदायका स्थानीय बुढापाकाहरु अझैसम्म बालीघरेमै आफ्नो पौरख बगाइरहेका छन् । उनीहरुको सीप नगदमा परिणत हुन सकेको छैन् । स्थानीय जनप्रतिनिधि चुनिएपनि उनीहरुले आरन पेशालाई आधुनिक बनाउनतर्फ ध्यान दिएका छैनन् ।
अशिक्षा र गरिबीकै कारण उनीहरूले पेशालाई नयाँरूप दिन नसकेको दलित अगुवाहरू सुनाउँछन् । पुर्ख्यौली पेशाको तरिकालाई छाड्न नचहाँदा थोरै अन्नमा श्रम बेच्न बाध्य भएको स्थानीय दलित समाजका अगुवा निमबहादुर सुनारले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्