सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीको निर्देशनपछी धमाधम खाल्डा पुरिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र राजधानी काठमाण्डौमा सडकका खाल्डा पुर्न निर्देशन दिएपछि धमाधम काम सुरु भएको छ ।

हिँजोमात्र प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्नका लागि संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई जिम्मेवारीसहित निर्देशन दिएको थियो ।

खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायले प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेको बताएका छन ।

‘काम त हामीले पहिले पनि गरिरहेकै थियौं,’ सचिव उपाध्यायले भने, ‘गति अलि सुस्त थियो अब तोकिएकै मितिमा सक्ने गरी काम गर्छौं ।’

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको बताएका छन ।

‘हामीले फरक फरक क्षेत्र बनाएर काम गरिरहेका छौं, दिनमा काम गर्न नसकिने ठाउँमा राति पनि खाल्डा पुर्न लागिरहेका छौं’, खत्रीले भने ।

उनका अनुसार मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सोमबार मन्त्रालयमा खाल्डा पुर्ने विषयमा छलफल गरिएको र मंगलबारदेखि धमाधम काम भइरहेको बताएका छन ।

‘पहिला विस्तार भइरहेका सडकमा खाल्डा पुरेर फेरि किन खर्च बढाउनु भन्ने सोच पनि थियो,’ सिग्देलले भने, ‘हामीसँग जनशक्ति र स्रोत पनि कम थियो, अब बरु बाहिरका अफिसबाट जनशक्ति ल्याएर पनि खाल्डा पुर्न थालेका छौं ।’

१५ दिनभित्र विभागले जिम्मा पाएका सडकमा खाल्डाखुल्डी पुरेर सकिने सिग्देलले बताएका छन । ‘यत्ति काम पनि तोकिएको समयमा गर्न सकिएन भने बिजोग हुन्छ’, उनले भने ।

काठमाडौं महानगरपालिकाले ८ मिटरभन्दा कम चौडा भित्रि सडकमा रहेका खाल्डा पुर्ने जिम्मा पाएको छ । ‘हामीले पनि काम सुरु गरिसकेका छौं,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘सडक छेउका नालीलाई पनि छोप्न कसरी सकिन्छ भनेर अध्ययन भइरहेको छ ।’

चक्रपथमा लामा नाली भएकाले सबै छोप्न नसकिने भए पनि मुख्य चोकका नालीलाई छोप्न लागिएको हो ।

सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार १३ वर्षिया सत्या सापकोटा खसेको नालीको स्थलगत निरीक्षण गरेर त्यसलाई तत्काल पुर्न निर्देशन दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्