प्रेम गरेका कारण कुटाई खाने जोडीले दिएको बयान
असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । शुक्रबार समाचार संकलनको लागी उनको गाउँ पुगेका संचारकर्मीसँग अनुरोध गर्दै उनले भनेकी छिन–‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाएँ । यसमा मेरो आफन्तको कुनै दोष छैन ।’
निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीया मीना यादवले आफुलाई कतै चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताएकी छिन । उनी अहिले भविष्यमा हुन सक्ने दबावबारे पहिले नै सचेत छिन । सबै कुरा मिलिसकेको हुँदा अब यो घटनालाई यहीँ रोक्न समेत उनले आग्रह गरेकी छिन ।
प्रेम गरेका कारण कुटाई खाएकी किशोरीको भनाई
मीनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै जना खेतमा गएको अवस्थामा छिमेकी गाँउका दिनेश लोध घरमा आएका थिए । मीनाले घरबाट जान भने पनि दिनेश जान मानेनन । सोही क्रममा मीनाका बाबुआमा खेतबाट फर्किएपछि दुवै जनालाई एकसाथ देखे पछि कुटपिट गरेका थिए ।
उनले पहिले दिनेशसँग प्रेम सम्बन्ध भए पनि उनले जादुटुना गरेर प्रेममा पारेको दाबी गरिन् । अहिले हामी २ बीच केही पनि बाँकी नरहेका कारण आपसी सहमतिमा ईलाका प्रहरी कार्यालय मर्चवारमा गई छुट्टिएका हौं ।
कुटपिटको शिकार भएकी पीडित मीना यादव, उनका बाबु ईन्नर अहिर र केटा दिनेश लोधलाई ईलाका प्रहरी कार्यालय मर्चवारले हिरासतमा लिएको थियो । केटालाई २ दिनमै छाडेको र आफुलाई प्रहरीले ३ दिन सम्म थुनेको उनले बताएकी छिन ।
मिनाका प्रेमी भनिएका किशोरको भनाई
केटा दिनेश लोध भने शुरुमा त आफुहरु प्रेममा रहेको नै स्विकार गरेनन । उनले आफु बाटोमा हिँडिरहेको अवश्थामा मीनाले घरमा बोलाएको दावी गरेका छन । घर बाहिर नै बसेर गफ गरिरहेको अवस्थामा उनका परिवार आई आफुहरुलाई निर्घात कुटपट गरेको दिनेशको भनाई छ ।
पेशाले शिक्षक रहेका दिनेश घटनाको दिन पछि सो पेशा पनि छाडेका छन् । उनले आफु उपचार गराउनु पर्ने भएकाले घरमै बसेका कारण शिक्षण पेशा छोडेको बताएका छन ।
प्रहरीको भनाई-‘छोरीचेली बिगार्नेलाई जसले पनि कुट्छ ।’
घटनाको जानकारी पाए लगतै मीना यादव र दिनेश लोधको स्थानीय प्रहरीले उद्दार गरेको थियो । ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी नायब निरिक्षक नरिश्वर अर्यालले ‘केटाले केटी भेट्न आएको र केटीको बाबुले दुवै जनालाई एकै साथ भेटाए पछि नियन्त्रणमा लिई कुटपिट गरेको’ बताएका छन ।
आफ्नो छोरी चेली बिगार्नेलाई कसैले पनि फुलमाला नलगाई कुटपिट नै गर्ने उनको भनाई छ । उनले केटा र केटीलाई स्थानीय भद्र भलादमीको रोहवरमा जिम्मा लगाईएको पनि बताएका छन ।
यता सम्मरीमाई गाँउपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लले आफ्नो क्षेत्रमा भएको अमानवीय घटनाप्रति खेद प्रकट गर्दै स्थानीय प्रशासनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले उक्त घटनामा दोषी रहेकालाई कारवाही गराउन पहल गर्ने बताएका छन ।
यसै गरि घटना सार्वजनिक भए पछि बिभिन्न अधिकारवादी संगठन पनि सक्रिय भएका छन । माईती नेपालकी प्रभा खनालले अहिले पनि बिभिन्न स्थानमा यस्ता निकृष्ठ घटनाले निरन्तरता पाएको कारण प्रहरीले कडा कारवाही गर्नु पर्ने बताईन । उनले यस घटनालाई हेर्दा अबका दिनमा कुनै महिला, चेली कुटिन नदिन कडा कदम चाल्न आवश्यक रहेको प्रतिक्रिया दिएकी छिन ।
युवती कुट्ने ५ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, इन्सपेक्टर पनि कारवाहीमा
बिभिन्न मिडियामा समाचार प्रकाशन एवम प्रसारण भएपछि रुपन्देही प्रहरीले छानबिनका साथै कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार बाहिरिए लगतै रुपन्देही प्रहरीले घटनाको छानबिन गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
घटनामा संग्लन युवतीका बुवा इन्नर यादव सहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिएका छन ।
धानुकका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का युवतीका बुवा ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
यी मध्ये युवतीका बुवा यादवलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको बताएको छ । प्रहरीले दोषीलाई कारवाही हुने पनि बताएको छ ।
साथै एसपी धानुकले आफु मातहत रहेको ईलाकामा घटना भएपनि माथिल्लो निकायलाई जानकारी नगराएका कारण इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिंजापति उपर पनि विभागिय कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताएका छन ।
एसपी धानुकले इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरेका कारण उनीमाथि विभागिय कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताएका छन ।
विदामा गएका इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनी अहिले जिप्रकामा हाजिर भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्