उपचारको बहानामा श्रीमतीलाई भारत लैजान खोज्दा
आफ्नै श्रीमतीसहित चार जनालाई भारत लैजान लागेको अभियोगमा प्रहरीले कालिकोटका खगेन्द्र शाही सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दैलेखका तीन बालबालिकासहित एक महिलालाई भारत लैजान लागेको अभियोगमा कालिकोटका खगेन्द्र शाहीसहित जुम्ला कुडारीका बिशाल शर्मा र जाजरकोट जगतीपुरका शेरबहादुर महतरालाई नियन्त्रणमा लिएको हो ।
शाहीले झण्डै ४ वर्ष अघि दिदीको सहयोगले दैलेखकी किशोरीसँग विवाह गरेका थिए । शाहीको दिदीको घर दैलेख हो र घर नजिकैकी किशोरीसँग भाइको बिहे गराइदिएकी थिइन् ।
तर, शाही घरमा नबस्ने भएपछि उनी पनि विवाह भएको एक महिनापछि नै माइत फर्किइन् । ‘श्रीमतीको पेटको बिरामी भएको थाहा पाएपछि शाहीले उपचार गर्न भन्दै सुर्खेत बोलाएको देखिन्छ ।’ प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले भने ।
झण्डै १८/१९ वर्षकी उनी साउन ४ गते साथी लिएर सुर्खेत झरेकी थिइन । सुर्खेतमा श्रीमान शाहीसँग अरु दुई जना महतरा र शर्मासमेत भेटिएपछि उनको मनमा चिसो पस्यो ।
प्रहरी नायव उपरीक्षक काफ्ले भन्छन–‘उपचारको लागि सुर्खेतमा बोलाए पनि अस्पताल कतै नलगी तिम्रो उपचार सुर्खेतमा नहुने भयो, नेपालगञ्ज जानुपर्ने भयो भनेर होटल हाम्रो बाह्रकोटी जाजरकोटीमा कोठा लिएर राखेको पाइयो ।’
उपचारको लागि ल्याएको भएपनि शाहीको साथमा पैसा नभएको र ओहरदोहर गर्ने भाडा समेत अरुले नै हालिदिनु पर्ने अवस्था थियो । श्रीमती र उनका साथीलाई होटलमा राखेर शाही निस्किएपछि शर्मा र महतराले ‘तपाईको उपचार यहाँ नहुने भयो, इण्डिया जानु पर्ने भयो’ भनेपछि उनीहरु होटलबाट भागेर कोहलपुरको बस चढे ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध क्रियाशील ‘साना हातहरु नेपाल’ र बाँके प्रहरीको संयुक्त टोलीले कोहलपुर बसपार्कमा चार जनाको समूहलाई भेटेर उद्दार गरेको छ । शाहीले विभिन्न बहाना बनाएर बोलाएका कारण उनकी श्रीमतीले शंका मानेर आफ्नो साथमा १४, १० र ८ वर्षकी बालिका साथी लिएर आएकी थिइन ।
साना हातहरु नेपालकी अम्बिका पुनले कोहलपुर चौराहमा अलपत्र अवस्थामा रहेको अवस्थामा किशोरीसहित महिलाको उद्दार गरेपछि घटना सार्वजनिक भएको बताएकी छिन । अनलाईनखबरबाट
फेसबुकबाट कमेन्ट गर्नुहोस्