कहिले टुंगेला ? फेरी सर्यो मतपत्र च्यातिएको सुनुवाई
निकै चासोका साथ हेरिएको भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ । सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए ।
रिट निवेदकका पक्षमा १५ जना वकिलले बहस गरेपछि आज सरकारका तर्फबाट महान्याधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका थिए । उनको बहस नसकिँदै समय सकिएपछि सुनुवाइ १२ गतेका लागि सारिएको हो ।
भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद भई मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले सो बिषयमा बैठक बसी १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुनः मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेद्वार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
भरतपुरमा सुरूदेखि नै निर्वाचन आयोग सत्ताको प्रभावमा परी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागिपरेको रिटमा उल्लेख गरिएको छ ।
यसले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने र सत्ताको दबाबमा पर्ने भएकाले विपक्षी दलका उम्मेद्वारको सुरक्षा नहुने रिटमा दाबी गरिएको छ ।
गत जेठ १४ गते राति भरतपुर–१९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले केही मतपत्र च्यातेका थिए । त्यसपछि त्यहाँ पुनः मतदान गर्ने कि मतगणना अघि बढाउने भन्ने विवाद भएको थियो । निर्वाचन आयोगको बैठकले पुनःमतदान गर्ने निर्णय गरेको थियो ।
मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई प्रतिवेदन पठाउँदै ‘मतगणनास्थल रणभूमितुल्य बनाईएको’ उल्लेख गरेका थिए । उनले मतपत्र च्यात्ने लगायत सबै पक्षलाई नियन्त्रणमा लिई गणनास्थल सिल गराएको पनि उल्लेख गरेका थिए ।
सुरक्षा निकायले आयोगलाई पठाएको प्रतिवेदनेमा भने ‘केही मतपत्र च्यातिएको’ तर ‘मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई गणनास्थल कब्जा हुनबाट जोगाएको’ उल्लेख गरिएको छ । आयोगले बनाएको छानबिन समितिले पनि गणनास्थल कब्जा भएको प्रतिवेदन दिएको थिएन ।
भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो । कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो । माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन् । त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो ।
यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो । १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो । आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन ।
मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो । उक्त टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी प्रतिवेदन बुझाएको थियो ।
यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुनः मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुनः मतदान स्वीकार्य नहुने बताउँदै आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्