जन्मियो विवेकशिल साझा पार्टी, दुईजना नेता
साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच बुधबार एकता भएको छ । एकतापछी पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ भएको छ भने चुनाव चिन्ह तराजु बनाईएको छ ।
एकिकृत नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्वल थापा दुबैले संयुक्त रुपमा नेतृत्व गर्नेछन । मिश्र र थापा दुबैलाई सह–संयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।
साझा र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरेका छन । पार्टी एकता घोषणा कार्यक्रममा रविन्द्र मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन । उनले भने, ‘उहाँहरुले सम्बृद्धिको लडाई लगाडि लैजान सक्नु हुन्न ।’
स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फेर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।’ विवेकशिल साझा पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।
दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेद्वार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेको थिएन ।
काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो,’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्दा संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्