श्रीमती माग्दै पाँच दिनदेखी ससुरालीमा अनशन
सासुससुराले श्रीमतिसँग बिछोड गराएको भन्दै दैलेखका अर्जुन सार्की बाँकेको बैजनाथ–३, मसुरीस्थित ससुरालीमा पाँच दिनदेखि अनशनमा बसेका छन ।
अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् ।
उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।
दैलेखको नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए । उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा रहेका छन ।
पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उनले बताएका छन । ‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ,’ उनले भने, ‘सासुससुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए ।’
सार्कीको ससुराली बैजनाथ–३, नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ । पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताएका छन । सासुसुराले पत्नी रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् ।
ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहेका छन् । पानीको सहारामा उनी बाँचिरहेका छन् । पत्निलाई उक्साएर र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उनको आरोप छ ।
उनले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू अगाडी ल्याउनुपर्ने अडानमा छन् । रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिनमा आउने बताएका छन । आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै उनले छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने बताएका छन ।
‘छोरी आएपछि केटासंग बस्ने नबस्ने उसको हातको कुरा हो,’ उनले भने, ‘केटीले चाही भने हामी पनि राजी छौ ।’ सशिरामले आफूले छोरी नउक्साएको तर केटाको बानी व्यबहारले मुद्दा दर्ताको अवस्था आएको दावी गरेका छन ।
आफू दलित भएकै कारण घरेलु हिँसा र सम्बन्ध विच्छेद मुद्दा हालेर अलग बनाउन चाहेको अर्जुन सार्कीको आरोप छ । स्थानीय र आफन्तले पीडित सार्कीलाई अनशन तोड्न आग्रह गरेपनि उनले पत्नि आफू सामु नआउँदासम्म र मुद्दा छिनोफानो नहुँदासम्म अनशन जारी राख्ने पक्षमा छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्