सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवनमा आज रेणु र र देवीको फैसला गर्दै जनता

मतपत्र च्यातिएको सम्बन्धि सर्वोच्चले दिएको फैसला अनुसार भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन हुँदै छ । पहिलो चरण अन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा गणनास्थलमा खटिएका माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । पुनः मतदान नभई मतगणनालाई नै निरन्तरता दिनुपर्ने भन्दै परेको निवेदनमा सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा आज मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि गणना हुनेछ ।

भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।

मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताएका छन ।

तीन पार्टीका केन्द्रीय नेताहरु चितवनमा

निर्वाचन आफ्नो पक्षमा पार्न प्रमुख तीन दलका केन्द्रीय नेताहरू चितवन केन्द्रित भएका छन् । कांग्रेस केन्द्रीय नेताहरू डा. प्रकाशशरण महत, बालकृष्ण खाण चितवनमै छन् । सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता अर्जुननरसिंह केसी चितवन गएर फर्किएका थिए ।

चितवनकै सांसद रामकृष्ण घिमिरे पनि जिल्लामा खटिएका छन् । त्यस्तै, एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डे निर्वाचनका लागि चितवनमा खटिएका छन् । रावल बिहीबार बिहान मात्र चितवन आइपुगेका हुन् ।

दुई नेताका साथै चितवनकै काशीनाथ अधिकारी लगायतका नेताहरू निर्वाचनमा खटिएका छन् । माओवादी केन्द्रका नेता अमिक शेरचन, चित्रबहादुर श्रेष्ठ र नारायण दाहालको टोली पनि चितवनमै खटिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्