बाग्लुङको निशीमा पहिरोले ५ जनालाई बगायो
अविरल बर्षाका कारण आएको पहिरोमा परी बाग्लुङमा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक जना बृद्धा पहिरोमा परी वेपत्ता भएको बताईएको छ ।
पहिरोमा पुरीएर निशीखोला–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी ६३ वर्षिया श्रीमती नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल रहेका छन् ।
निशीखोला–१, हुल्दीमा पहिरोमा परेर एकजना बृद्धा वेपत्ता भएको खबर प्राप्त भएको छ । बर्षाका कारण आएको पहिरोले घर बगाउँदा ७० वर्षिया खगिसरा सिंजाली पुरिएको प्रहरीले जनाएको छ ।
बाग्लुङकै ढोरपाटन नगरपालिका–५ पाखापानीमा आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर अन्दाजी ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको हो । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेको बताईएको छ ।
पहिरोले बाग्लुङमा आधा दर्जन घरमा क्षति र्पुयाएको जानकारी प्राप्त भएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्