सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिसि टिभि र तारजाली घेरामा भरतपुरको मतगणना

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा ७५.५८ प्रतिशत मतदान भएको छ । तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका छन ।

किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८ मतदाता मध्ये ९५३ मत खसेको छ । जीवनज्योति स्कूल गुञ्जनगरमा १ हजार ३ सय ६ मतदाता मध्ये १०१४ मत र शारदानगर माविमा एक हजार २ सय ४३ मध्ये ९०३ मत खसेको छ ।

यो वडामा कुल ३ हजार ७ सय ९७ मतदाता छन् । यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना रोकिएको थियो । मतगणनालाई निरन्तरता दिन माग गर्दै परेको निवेदनबारे सर्वोच्चले पुनः निर्वाचन गराउन आदेश दिएपछी आज पुनः निर्वाचन भएको हो ।

सुरक्षाका लागी मतगणनास्थलमा सीसी टीभी र तारजाली

भरतपुरमा आज भएको मतदानको मतगणना आजैबाट सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएको कारण यसपटक मतगणनास्थलमा सीसी टीभी र तारजालीको व्यवस्था गरिएको छ ।

दलीय प्रतिनिधिहरुको गतिविधिलाई निगरानी गर्नका लागि सीसीटीभी जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका छन ।

मतगणनामा सहभागी हुने दलका प्रतिनिधिको पहुँच मतपत्रसम्म नहोस् भन्नका लागि तार जाली समेत लगाइएको छ । वडा नम्बर १८ को गणना सकिँदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।

भरतपुरको २९ वटा वडा मध्ये २७ वटा वडाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडामा एमालेले, १० वटामा कांग्रेसले र ३ वटामा माओवादीले जितेका छन् ।

२७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्