डोटीमा राति ११ बजे जिप दुर्घटना, ९ को मृत्यु
डोटीको दिपायलबाट चबरा चौतारातर्फ जाँदै गरेको से १ ज ४९१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादुर सिंहका अनुसार १६ जना यात्रु लिएर हिँडेको जिप बोगटान गाउँपालिका ६ गगुडाघार भन्ने ठाउँमा शुक्रबार राति ११ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा अधिकांश बोगटान–१ का स्थानीय बासीन्दा परेका छन् । मृत्यु हुनेहरुमा बोगटानका ३५ वर्षीय विष्णुबहादुर मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४५ वर्षीय ललिता पुन मगर, ४८ वर्षीय शशिराम पुन मगर रहेका छन ।
त्यस्तै बोगटान–१ कै ४० वर्षीय टेकबहादुर पुन मगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर, ५५ वर्षीय भीमबहादुर घर्तीमगर र जिप चालक शिखर नगरपालिका १ का २८ वर्षीय विष्णु नेगीको पनि दुर्घटनामा परी निधन भएको छ ।
डिएसपी सिंहका अनुसार तीन दिनदेखि लगातार पानी परिरहेको र चिप्लो सडक भएका कारण दुर्घटना हुन गएको प्रारम्भिक अनुमान छ । मृतक र घाइतेको उद्धार कार्य जारी छ ।
उक्त सडक खण्डको तिखातर भन्ने ठाउँमा पहिरो खसेकोले घाइतेलाई अस्पलाल लैजान ढिला भइरहेको डिएसपी सिंहले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्