भरतपुरमा एमाले जनप्रतिनिधिद्वारा सपथ बहिस्कार
चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् । मतगणनाका क्रममा मतपत्र च्यातिएको भन्दै मतपत्र च्यात्नेहरुसँग शपथ नलिने भन्दै उनीहरुले शपथ बहिस्कार गरेको बताएका छन् ।
गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयरमा पार्वती शाहसँगै महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई शपथ गराइने भनिएपनि एमालेका निर्वाचित प्रतिनिधिले बहिस्कार गरेपछि कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्रै शपथ लिएका छन् ।
यसैबीच, महानगरपालिकाका वडा नम्बर ४ र ७ का दुई जना वडाध्यक्षहरुको शपथ पनि रोकिएको छ । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए ।
त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।
सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आइतबारका लागि रोकिएको हो ।
ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।
भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ गराइएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्