सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई र मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० को सन्धि, भारतले एकतर्फी रुपमा निर्माण गरेका बाँध हटाउनुपर्ने र सुपुर्दगी सन्धि लगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

संसद्को मंगलबारको बैठकमा विशेष समय लिएर उनले डुबान समस्या कसरी पैदा भएको र अब कसरी समाधान गर्ने भन्ने सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्ने बताएका छन ।

करिब डेढ साताअघि आएको प्राकृतिक विपत्तिबाट १४९ को ज्यान गइसकेको र १० हजारको संख्यामा घरबारबिहिन, ठूलो संख्यामा जनता समस्यामा रहेको उनले उल्लेख गरेका छन ।

संसदको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे संसदमार्फत नेपाली जनतालाई जानकारी नगराएको भन्दै अध्यक्ष ओलीले आपत्ति समेत जनाएका छन ।

ओलीले अन्तराष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिएका छन ।

ओलीले अघि भने, ‘म भन्न चाहन्छु, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ । नेपालको अहित हुनेगरी एकतर्फी रुपमा बनेका बाँधहरु हटाउने कि नहटाउने कुरा गर्नुपर्छ र त्यस्ता बाँधहरु हटाउनुपर्छ ।’

भूकम्प गएको यति समय बित्दा समेत भूकम्पपीडित उस्तै समस्यामा रहेको बताउँदै उनले विपद् व्यवस्थापन सम्बन्धी ऐन छिट्टै सदनमा ल्याउन आग्रह गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्