बैतडीमा फेला पर्यो महाभारत युद्धको ईतिहास
बैतडी सदरमुकामा नजिकै दक्षिणपट्टी रहेको देवलहाँटमा हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका वस्तु फेला परेका छन् । परापूर्वकालमा निर्माण गरिएका देवलको जीर्णोद्धार गर्ने क्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तल लगायतका धातुका दर्जनौँ भाडावर्तन फेला परेका हुन् ।
आजभन्दा करिब पाँच हजार वर्ष पहिला महाभारतमा कौरव र पाण्डव युद्धको पौराणिक कथाको इतिहाससँग जोडिएको देवलहाटस्थित विभिन्न आकृतिका वस्तु, तीनवटा ठूला तलवार, मूर्तिहरु र केही भाँडामा धानसमेत फेला परेका छन् ।
देवलहाँटमा रहेका सातवटा देवलमध्ये एउटा देवलको दोस्रो तलामा ती वस्तुहरु फेला परेपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा मुचुल्का गरेर सुरक्षित राखेको स्थानीय ईश्वरीदत्त भट्टले बताएका छन ।
पौराणिक कथाअनुसार महाभारत युद्धका बेला पाण्डवहरु एकरात यही स्थानमा बसेको र एकै रातमा सातवटा देवल निर्माण गरेको किंवदन्ती रहेको भट्टले बताएका छन ।
पूर्वजबाट पाण्डवहरु एकराति बास बसेको पवित्र स्थल हो भन्ने सुनेको थिएँ, उनले भने–‘ठूल्ठूला तलवार र विभिन्न भाँडाकुँडा फेला परेपछि बुढापाकाले भनेको सही जस्तो लागेको छ ।’
जीर्ण अवस्थामा रहेको देवल पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण गर्ने क्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तल लगायतका धातुका दर्जनौँ भाँडावर्तन तथा अन्य वस्तुहरु फेला परेका हुन् ।
दर्जनौँको सङ्ख्यामा रहेका ती वस्तुहरु रहस्यमय तरिकाले फेला परेको अर्का स्थानीय महादेव भट्टले जानकारी दिएका छन । ‘यति धेरै सङ्ख्यामा अचम्मका आकृति फेला परे’, भट्टले भने–‘पाण्डवले निर्माण गरेका देवलहरु भएकाले त्यसभित्रबाट फेला परेका वस्तुहरु समेत त्यसै समयको हुनसक्ने अनुमान गरेका छौँ ।’
फेला परेका वस्तुबारे पुरातत्व विभागले अनुसन्धान गरे पाँच हजार वर्ष पुरानो इतिहास पत्ता लाग्ने स्थानीय बासिन्दाको भनाइ छ । फेला परेको वस्तुसँगै धान पनि रहेकाले ती वस्तुको अध्ययन हुनसके इतिहासको नौलो तथ्य पत्ता लाग्ने उनीहरुको भनाइ छ । अनौठा खालका पुरातात्विक वस्तुहरु फेला परेपछि स्थानीय शिवशङ्कर युवा क्लबले महाशिवपुराण महायज्ञको आयोजना गर्दै ती वस्तुहरु प्रदर्शनीमा राखेका छन् ।
मन्दिर भित्रबाट फेला परेका वस्तुहरु हेर्न अहिले विभिन्न ठाउँबाट भक्तजन आउने क्रम बढेको छ । शिवशङ्कर युवा क्लबले पुरातात्विक वस्तुको प्रचारप्रसार र विश्व शान्तिको कामना गर्दै शुक्रबार महायज्ञको आयोजना गरेपछि विभिन्न ठाउँबाट बैतडीको देवलहाँट आउनेको सङ्ख्या बढ्दै गएको अर्का स्थानीय गणेश भण्डारीले बताएका छन ।
सदरमुकाम बैतडीको शाहीलेक बजारबाट एक किलोमिटर दक्षिणमा रहेको देवलहाँटमा ६ वटा पूर्ण र एउटा अधुरो देवल रहेको छ । पाण्डवले राति देवल निर्माण गर्ने क्रममा छ वटा निर्माण सम्पन्न गरेको सातौँ देवल निर्माण गर्ने क्रममा उज्यालो भएपछि आफ्नो गन्तव्यतर्फ लागेको किंवदन्ती रहेको छ ।
हिन्दु धर्मावलम्बीका लागि पवित्रस्थल मानिएको देवलहाँटमा पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ सुदूरपश्चिमको महान पर्व गौरा र महाशिवरात्रिमा विशाल मेला लाग्ने गर्दछ ।
जीर्ण अवस्थामा रहेका देवलमा पुरातत्व विभागबाट तीन वर्षयता बर्षेनि एउटा देवलको जीर्णोद्धार गर्ने कार्य सुरु भएको छ । जीर्णोद्धारकै क्रममा एउटा देवलको मध्यभागबाट पुरातात्विक वस्तुहरु फेला परेका हुन् । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्