देश छाडेर फरार भईन थाईल्याण्डकी पुर्वप्रधानमन्त्री
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नुभन्दा अघि उनी भागेको बताइएको छ ।
उनको पार्टीका निकट व्यक्तिहरुले बताए अनुसार अदालतको फैसलाको केहि समयअघि उनले अप्रत्यासित रुपमा देश छाड्ने निर्णय लिइन् । सिनावात्रा उनीबिरुद्ध थाई सर्बोच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइका लागि शुक्रबार अदालतमा उपस्थित हुनुपर्ने थियो ।
अदालतले उनको जमानत जफत गरी पक्राउ पुर्जी जारी गरेको छ । सिनावात्राका वकिलले उनी बिरामी भएका कारण अदालतमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । तर अदालतले वकिलको तर्कलाई खारेज गरी मुद्दाको फैसला मिति सेप्टेम्बर २७ सम्मका लागि तोकेका छन् ।
१ विलियन डलर भन्दा बढीको थाइ सरकारको यस योजनामा आफूले कुनै अनियमितता नगरेको दावी सिनावात्राको छ । यस अनियमिततामा दोषी पाइए उनलाई १० वर्षसम्मको जेल सजाय तथा राजनीतिमा आजीवन प्रतिबन्ध हुनसक्छ ।
उनको पार्टी पुए थाई पार्टी स्रोतले रोयटर्ससँग कुरा गर्दै उनले थाइल्याण्ड छाडिसकेको जानकारी दिएको छ । तर उनी कहाँ छिन् भन्ने बारेमा भने केहि खुलाएको छैन ।
यसअघि थाई प्रधानमन्त्री प्रायुथ चाङ ओचाले देशका सबै नाकामा कडा निगरानी राख्न निर्देशन दिएका थिए ।
‘मैले भर्खरै सुनेँ कि उनी अदालतमा उपस्थित भइनन्’, प्रधानमन्त्री ओचाले पत्रकारहरुसँग भने, ‘मैले मुलुकका सबै सीमामा निगरानी राख्न भनेको छु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्