पार्टी एकताबारे नेकपाका नेताहरु चुप बस्नुको रहश्य
नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक एकता कार्यदलले पार्टी एकताका विषय सार्वजनिक गर्ने नेतालाई ‘कारबाही’ गर्नेगरी आचारसंहिता बनाएपछी नेताहरु बोल्न छाडेका छन् । आचारसंहितामै छलफलका विषय सार्वजनिक गरेमा कार्यदलबाट निष्कासन गर्नेसम्मका विषय उल्लेख भएपछि नेताहरु बोल्न छोडेका हुन् ।
कार्यदलले छलफलका विषय अत्यन्त गोप्य राखेको छ । स्थायी समितिले पुस १३ गते गठन गरेको शक्तिशाली कार्यदलले छलफलका विषय सार्वजनिक हुन नदिन आचारसंहिता तयार पारेको हो ।
कार्यदलका एक नेताले भनेका छन्–‘जसले छलफलका विषय एक्स्पोज (सार्वजनिक) गर्छ, उसको निकटता र एक्सेस (पहुँच) हेरेर नैतिक रुपमा कार्यदल छोड्नेसम्मको अवस्था बनाउने गरी आचारसंहिता बनेको छ ।’
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत १६ गते १० दिनभित्र काम सक्ने गरी संगठनात्मक काम सम्पन्न गर्न निर्देशन दिएका थिए । दुई अध्यक्षले दिएको समयसीमा भोलि (बुधबार) सकिँदैछ ।
नेकपामा संगठनात्मक एकताका लागि बनेको यसखालको कार्यदल यो चौथो हो । नौ सदस्यीय कार्यदलमा नेता रामबहादुर थापा, विष्णु पौडेल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, वेदुराम भुषाल र योगेश भट्टराई छन् ।
कार्यदलको बैठक आजसहित तीन पटक बस्यो तर कुनै पनि बैठकमा उठेका विषय सार्वजनिक गर्न नेता तयार छैनन् । पहिलोपटक शुक्रबार र दोस्रोपटक आइतबार बैठक बसेको थियो ।
कार्यदललाई एकताको काम टुंगाउन आफैं मापदण्ड बनाउने अधिकार छ । तर तीनवटै छलफल गोप्य राखेको कार्यदलले मापदण्डसमेत बनाउन सकेको छैन । एक नेताका अनुसार मंगलबार बस्ने बैठक मापदण्ड केन्द्रित हुनेछ ।
कार्यदललाई पार्टी एकता टुंग्याउन तीन अधिकार दिइएको छ । जिल्ला संगठन समितिसम्मको एकता टुंग्याउने र जनवर्गीय संगठनको एकता गर्ने कार्यदलको मुख्य काम हो । यस्तै प्रदेश कमिटी बनिसकेको तर विधान तथा मापदण्ड विपरीत सदस्य परेको खण्डमा छानबिन गर्ने र संशोधन गर्ने अधिकार पनि कार्यदललाई छ ।
पार्टीको विधानमा केन्द्रीय समिति तथा स्थायी समिति बैठकको समयावधि लगायतका विषयमा रहेका विवाद टुंग्याउने अधिकार पनि कार्यदललाई छ । विधानमा तीन महिनामा स्थायी कमिटी बैठक बस्ने व्यवस्था भए पनि अधिकांश सदस्य एक–एक महिनामा बैठक बस्नुपर्ने पक्षमा छन् । यसपटक पनि पाँच महिनामा बल्ल स्थायी समिति बैठक बसेको हो ।
कार्यदललाई पोलिटब्यूरो गठन तथा केन्द्रीय समिति सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्ने पनि अधिकार छ । यो कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन दिएपछि सचिवालय बैठक बस्ने र पुस अन्तिमसम्म स्थायी समिति बैठक बोलाउने तयारी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्