सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

२३ वर्षपछि फुटबलको अन्तर्राष्ट्रिय उपाधि उचाल्दा

लामो समयसम्म फुटबलमा अन्तर्राष्ट्रिय उपाधि बिहिन भएको नेपालका लागि शुक्रबार ऐतिहासिक क्षण भयो ।

सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेयता तेइस वर्षसम्म नेपालले कुनै पनि प्रतियोगितामा उपाधि जितेको आज पहिलो पटक हो । बंगलादेशको बङ्गबन्धु रंगशालमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइनको चुनौती ३-० ले पन्छाउँदै फुटबलमा उपाधि र गोल खडेरी एकै पटक तोडेको छ ।

नेपालको ऐतिहासिक जितका लागि बिमल घर्तिमगर, बिशाल राई र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा पासमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित सुनिश्चित पारे ।

यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग) मा सोही मैदानमा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन । त्यसैगरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

Nepal-Football-bangbandhu

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदलले उपाधि विजेता नेपाललाई ट्रफि हस्तान्तरण गरिन् । ट्रफिसहित नेपालले ५० हजार अमेरिकी डलर पुरस्कार पायो । ट्रफी तथा पदक प्रदान गर्दै वाजेदले हिमालको देश नेपालले उपाधि जितेकामा बधाई तथा शुभकामना समेत दिइन् ।

प्रतियोगिताको फाइनलमा एक गोल गरेका विमल घर्तिमगर ‘म्यान अफ द म्याच’ भए । उनले पुरै प्रतियोगितामा २ गोल गरे। त्यस्तै प्रतियोगिताको उत्कृष्ट तथा ‘हाइ स्कोरर’को उपाधि नवयुग श्रेष्ठले पाए । उनले प्रतियोगितामा ह्याट्रिकसहित चार गोल गरेका थिए ।

प्रतियोगिताको अपराजित नेपालले आठ गोल गर्‍यो भने एक गोल मात्र खाएको थियो ।

सेमिफाइनलमा पुग्ने लक्ष्य बोकेर बंगलादेश गएको नेपाली युवा टोलीले ऐतिहासिक सफलता बोकेर फर्किएको छ ।

यसअघि भारतमा भएको साफ च्याम्पियनसिप प्रतिययोगितामा लज्जास्पद हार खादै पहिलो चरणबाटै बाहिरिएको थियो । सोही टोलीका केही खेलाडी परिवर्तन गरी बंगलादेश यात्रा गरेको नेपालले बङ्गबन्धुको फाइनलमा बहराइन यु–२३ लाई हराउँदै उपाधि जितेर फर्किएको छ ।

फिफा बरियतामा नेपालभन्दा बहराइन निकै माथिल्लो स्थानमा रहेको छ । नेपाल १९६ औँ स्थानमा छ भने बहराइन १२१ औँ स्थानमा छ । नेपाल र बहराइनको औपचारिक रुपमा भने यो पहिलो भेट हो ।

फिफाले बहराइनको यु २३ सँगको खेललाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएन । दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रय खेलको मान्यता पाउने फिफाको नियममा छ ।

प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको खेलमा श्रीलंकालाई हराएको थियो । पहिलो खेलमा मलेसियासँग र तेस्रो खेल बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरी खेलेको थियो ।

नवयुगको ह्याट्रिकसँगै सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरको सनसनीपूर्ण जित निकाल्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।

नेपालले सन् १९८४ मा काठमाडौँमा भएको चौथो साग र बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा वरिष्ठ टोलीले पदक जित्न सकेको छैन । नेपालले १९८४ मा जितेको पदक नै अन्तर्राष्ट्रियस्तरको पहिलो पदक हो ।

त्यस्तै नेपालले घरेलु मैदानमा सन् १९९९ मा भएको आठौँ सागको फाइनल खेल खेलेको थियो । त्यतिबेलाको फाइनलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो । त्यतिमात्र नभई नेपाली फुटबलमा जगत्मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राष्ट्रिय टोलीका मुख्य पाँच खेलाडी पक्राउ पर्दै धरौटीमा रिहा भए पनि खेलक्षेत्रबाट नै बाहिरिएका थिए ।

यस्तो अवस्था भए पनि धेरैजसो नयाँ अनुहार रहेका राष्ट्रिय खेलाडीले नेपाली फुटबल जगत्मा नयाँ इतिहास रच्न सफल भए । बङ्गलादेश फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा सार्क राष्ट्रका श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित आठ टोलीले सहभागिता जनाएका थिए ।

सन् १९९६ देखि सुरु भएको बंगबन्धु गोल्डकमा नेपालले यसअघि सन् १९९९ मा सहभागिता जनाएको थियो। त्यतिबलाको खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । करिब बीस वर्षमा प्रतियोगिता चार पटक मात्र आयोजना भएको छ ।

विजेता खेलाडीहरुले जनही ७ लाख पाउने

३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले टीमका प्रत्येक सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको हो । यसैगरी राष्ट्रिय खेलकुद परिषदले च्याम्पियन टोलीका खेलाडीलाई जनही २ लाख दिने बताएको छ ।

सेतोपाटीबाट जस्ताको तस्तै ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्