को बन्ला त अखिल क्रान्तिकारीको अध्यक्ष ?
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रले राजनीतिक र विधान प्रतिवेदन पारित गरेको छ । विघटित कमिटीका अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
कीर्तिपुरमा जारी तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समूहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्ष न्यौपानेले दिए पछि हलले सर्वसम्मतिले प्रतिवेदनहरु पारित गरेको हो ।
यसलगत्तै निर्वाचन समितिले नयाँ नेतृत्व चयन प्रकृया अगाडी बढाएको छ । शनिबार मतदाता नामावली प्रकाशित हुने र आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी दिएका छन । निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको अखिल क्रान्तिकारीको इतिहासमै पहिलो पटक हो ।
निर्वाचनमा कुल २ हजार ३४ मतदाता छन् । यी मतदाताले संशोधित विधान अनुसार ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछन् ।
समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा उमेर हद लागू गर्नुपर्ने चर्को बहस भएपनि अन्ततः तत्काल उमेरहद नलगाउने निर्णय भएको छ । आगामी एक वर्षभित्र विधान सम्मेलन गर्ने र उमेरहद लगायत समग्र सांगठनिक संरचनाबारे छलफल गरी टुंगो लगाउने निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन ।
बन्दसत्रमा सहभागीहरुले स्ववियु चुनावमा अखिल क्रान्तिकारीकै एजेण्डाअनुसार २८ वर्षे उमेर हद लागू भएको र अब संगठनभित्र पनि उमेर हद लागू गर्नुपर्ने आवाज उठाएका थिए । उनीहरुले ३५ वर्ष नाघेकाहरु संगठनको नेतृत्वमा हुन नहुने प्रस्ताव गरेका थिए ।
यदि उमेर हद लगाइएको भए हाल अध्यक्षमा दाबी गर्दै आएकाहरु सबै बाहिरिन्थे । अध्यक्ष पदमा अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, मदन अर्याल, सुरेन्द्र बस्नेत, बीरेन्द्र बस्नेत र पञ्चा सिंह दाबेदार छन् ।
अखिल क्रान्तिकारीले समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाएको छ । सम्मेलनको बन्दसत्रबाट पारित राजनीतिक प्रतिवेदनमा जनवादी शिक्षाको चरण पार गरिसकेको भन्दै अब समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाउने उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्