सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँमा घर जाँदा २० केजी मात्रै सामान लिनुहोला

यसपाली दशैँमा घर जाने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने भएका छन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयुक्त बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट पठाउन विभागले सबैलाई सचेत गरेको छ ।

त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ । व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ ।

तर, व्यवसायीले भने यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने जनाएका छन् । छतमा धेरै तौलका वस्तु राख्दा दूर्घटना बढेको भन्दै गत वर्ष सरकारले यात्रुवाहक सार्वजनिक सवारीको छत नै हटाएको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन ।

व्यवसायीले वैकल्पिक व्यवस्था नभएसम्मका लागि साविकको व्यवस्था कायम राख्न दवाव दिइरहेका छन् । उक्त मागलाई सम्बोधन गर्न विभागले कार्यदल गठन गरेर आवश्यक कानूनी व्यवस्था गर्ने बचनबद्धता जाहेर गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्