सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डिएनए नमिलेपछी प्रदिपको अरु प्रमाण खोज्दै प्रहरी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको छ । औपचारीक रुपमा प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन तर उच्च स्रोतको अनुसार दुवैको डिएनए रिपोर्ट नेगेटिभ आएको छ ।

विशाल र प्रदिपको डिएनए परीक्षण सम्पन्न भइसकेको छ । उनीहरूको डिएनए रिपोर्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट)ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको थियो ।

स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको थियो । नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए । त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टमा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो । तर, नास्टमा पनि परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको स्रोतको भनाइ छ ।

अभियुक्तको रूपमा हिरासतमा लिइए पनि उनीहरूमाथि अभियोग पुष्टि गर्ने कुनै भरपर्दाे आधार भने थिएन । डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएको र सो रिपोर्ट सोमबार कञ्चनपुर पठाएको थियो ।

विभागले दुवैजनाको डिएनए कञ्चनपुर पठाएको दाबी गरेको छ तर कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कठायतले उक्त रिपोर्ट आफूलाई प्राप्त नभएको बताएका छन् । यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पनि ल्याबले सोमबार नै डिएनए रिर्पोट पठाएको जानकारी दिएका छन् ।

उक्त रिपोर्ट मंगलबार कञ्चनपुर पुग्ने र बुधबार खोलीने भनिएको थियो । स्रोतका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै २÷४ दिन नखोलीने भएको छ । उच्च स्रोतका अनुसार प्रदीप रावल र विशालको डिएनए रिपोर्ट नेगेटिभ आएपछि प्रदीपलाई नै दोषी ठहर गर्नको लागि अन्य प्रमाण खोज्दै छ ।

प्रदीपले दिएको बयान मिल्दो देखिएपछि थप केहि प्रमाण भेटिन्छ की भनेर खोजी भइहरको छ । प्रहरीले प्रदिपबारे थप कोही देख्ने वा सुन्ने छ कि भनेर खोजी गरिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार डिएनए नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने सोचमा प्रहरी छ ।

यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक रोगी दीलिपसिंह विष्टको पनि डिएनए मिलेको थिएन । त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छोराको समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैको पनि डिएनए म्याच भएको छैन ।

निर्मला हत्याको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रावलले हत्या गरेको स्वीकारेको प्रारम्भिक बयानमा बताएको भन्दै प्रहरीले सुचना सार्वजनिक गरेको थियो ।

तर पछि उनीहरू निर्मला हत्या भएको दिन कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमै रहेको कुरा बाहिर आएपछी प्रहरी हच्किएको थियो । हाल प्रदिप र विशाललाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा राखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्