बाबुरामको कार्यक्रममा एमाले सचिव गर्जिएपछी
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गर्दै आएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बोलाएको कार्यक्रममा पुगेर एमाले सचिव योगेश भट्टराईले एमाले पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा रहेको भन्दै गर्जिएका छन ।
सचिव योगेश भट्टराईले एमालेले अहिले पनि जननिर्वाचित कार्यकारीको लाइन नछोडेको दावी गरेका थिए । उनले अहिले संविधानमा रहेको शासकीय प्रणाली अन्ततः फेल खाने ठोकुवा समेत गरेका छन ।
‘परिस्थितिजन्य कारणले विगतमा एमालेले संसदीय पद्धति स्वीकार गरेको हो’ सचिव योगेशले भने, ‘एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा बिर्सिएको छैन ।’
विगतमा माओवादीले दह्रो खुट्टा नटेकेकाले आफूहरु पछि हट्न वाध्य हुनुपरेको उनको दाबी थियो । भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री दुवै एमालेलाई स्वीकार्य भएको बताएका छन् ।
कांग्रेस नेता प्रदिप गिरीले आफूहरुले पार्टीभित्र पहिलेदेखि नै प्रत्यक्ष कार्यकारीको वकालत गर्दै आए पनि सफल नभएको बताएका थिए । ‘म र नरहरी (आचार्य)ले लविङ गरेका थियौं,’ गिरीले भने, ‘तर उहाँ बिरामी भएर ढल्नुभयो, म एक्लै परेँ ।’
शासकीय प्रणाली लगायत विभिन्न विषयमा असहमति भएकै कारण आफूले संविधानमा हस्ताक्षर नगरेको गिरीले उल्लेख गरेका थिए । उनले थपे, ‘कार्यकारी राष्ट्रपति हुनासाथै देशका सबै समस्या चट् हुन्छन् भन्ने होइन । तर, यसले राजनीतिक स्थिरता आउँछ र विकासको ढोका खुल्छ ।’
माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो पार्टीले संविधान निर्माणको अन्तिम घडीसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेको बताएका छन ।
अन्त्यमा बोलेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले मुलुकको विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अपरिहार्य रहेको उल्लेख गरेका थिए । राजनीतिक स्थायित्व विना देशमा बाहिरी लगानी नआउने र विकासमा देश पछि पर्ने डा. भट्टराईको धारणा थियो ।
बाबुरामले आयोजना गरेको बहसमा सुरुमै प्रकाशचन्द्र लोहनीले ‘राजनीतिक स्थायित्व र विकासका लागि राजतन्त्र फर्काउनु अपरिहार्य’ भएको अभिव्यक्ति दिएका थिए । बाँकी सबै वक्ताहरुले जननिर्वाचित कार्यकारीको पक्षमा बोलेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्