बाढिपिडितलाई वस्ती बनाईदिने धुर्मुस–सुन्तलीको घोषणा
हास्य कलाकारबाट समाजसेवीको छबि बनाएका धर्मुस–सुन्तली जोडीले तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । उनीहरुले धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।
एकीकृत बस्तीको योजनाबारे धुर्मुसले भने–‘उहाँहरु अँझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ । फेरि अर्को मानवीय क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमूना वस्तीको आवश्यकता महशुस भएको हो ।’
बाढीका कारण पीडित बनेका तराईवासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमूना वस्ती निर्माण गर्ने बताएकी छिन ।
एकीकृत नमूना वस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउने भन्ने अँझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनीहरुले बताएका छन् ।
राहत वितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले एकीकृत नमूना वस्ती पीडितहरु धेरै भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने बताएका छन ।
बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्बको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमूना नेपालको काम पनि निरन्तर अगाडि बढिरहने फाउण्डेशनले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्