भारतमा भएको सडक दुर्घटनामा ७ नेपालीको मृत्यु
भारतको पुरन्दरपुर क्षेत्रमा पर्ने देउपुर भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा ७ जना नेपालीको ज्यान गएको छ । भारतीय प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने नेपाली भएको खुलेपनि उनीहरुको सनाखत भने भएको छैन ।
दुर्घटनामा परी ४ जना पुरुष, एक महिला र दुई जना बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिएका छन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ ।
गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सि टी ७२०२ नम्बरको इन्डिका कार र सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको एक रेडिमिक्स ट्याङ्कर एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको बताईएको छ ।
दुर्घटना भएको स्थान नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । घटनाबारे जानकारी लिन सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाबाट २ जना प्रहरी घटनास्थलतर्फ पठाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्