नुवाकोट र चितवन बस दुर्घटनामा ९ जनाको मृत्यु
चितवनको राप्ती नगरपालिका १ पिप्लेमा बस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठोक्किएको हो ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । दुबै बसका चालक घाइते भएका छन् ।
उता नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनाका घाईते २८ जनालाई उपचारका लागी काठमाडौं ल्याइएको छ । काठमाडौंबाट नुवाकोटको खरानीटार हिँडेको बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । एक जनाको भने उपचारका क्रममा निधन भएको हो । नुवाकोट प्रहरीका अनुसार मृतक नुवाकोट रालुकाकी २२ वर्षीया सविता तामाङको सनाखत भए पनि अरुको सनाखत भएको छैन ।
घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नुवाकोट सडक दुर्घटनाका दुई तस्विर जोर्नालिस्ट भरतको फेसबुकबाट साभार गरिएको हो ।











फेसबुकबाट कमेन्ट गर्नुहोस्