सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इतिहासकै जम्बो मन्त्रिपरिषद, देउवाले थपे नयाँ मन्त्री

भर्खरै कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर जन्मिएको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको नयाँ रेकर्ड कायम गरेका छन ।

प्रधानमन्त्री देउवाले आज आईतबार राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयलाई मन्त्रिपरिषद विस्तारको जानकारी गराईसकेका छन् ।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भने मंगलबार हुनेछ । राप्रपा प्रजातान्त्रिकबाट संसदीय दलका नेता दिपक बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री तोकिएका छन । उद्योग राज्यमन्त्रीको जिम्मेवारी रेशम लामाले पाउने भएका छन् ।

राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री पनि मागेको थियो । तर, प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । प्रेस संयोजक परियारका अनुसार भोलि विहान ११ बजे सपथ तय भएको छ ।

राप्रपा प्रजातान्त्रिकको सरकारमा सहभागीता भएसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो मन्त्रिपरिषद् हुनेछ । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको थियो । जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्