सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुथ कब्जा गर्नेलाई नै कब्जा गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले बुथ कब्जा गर्न खोज्नेलाई नै कब्जा गरेर कारबाही गर्ने चेतावनी दिएका हुन ।

आइतबार सर्लाहीको बलरा–८ गडहियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले भने–‘विगतको जस्तो मतपेटिका लुटेर, बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको भए त्यो सपना बिफल हुनेछ । बुथ कब्जा गर्न खोज्नेलाई नै सुरक्षा निकायले कब्जा गर्नेछन् ।’

मन्त्री शर्माले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको चुनाव भयरहित रुपमा सम्पन्न गर्न सबै सुरक्षा व्यवस्था मिलाइसकेको बताएका छन । निर्वाचनमा निर्धक्क भएर स्वस्थ प्रतिस्पर्धा गर्न उनले सबैलाई आह्वान पनि गरेका छन ।

गृहमन्त्री शर्माले भने–‘शान्ति सुरक्षा व्यवस्थित गरिएको छ । चुनाव शान्तिपूर्ण हुन्छ ।’ आइतबार नै बाराको जितपुरसिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले चुनावको आचारसंहिता विपरित भोजभतेर गरेको पाइएमा स्थानीय प्रहरी प्रशासनका प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन ।

मन्त्री शर्माले सम्बोधनमा भने–‘रक्सी भट्टी र भोजभतेर खुलेमा स्थानीय प्रशासन कारबाहीको भागिदार हुन्छ ।’ शर्माले प्रदेश नं. २ का सर्बसाधारण सबै मतदातालाई निर्धक्क भएर आफुले चाहेको उम्मेद्वारलाई भोट हाल्न आग्रह गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्