डुब्ने भयो गाईबाख्रा बेचेर सुरुङमार्गमा गरेको लगानी
निकै चर्चा र आशा गरिएको काठमाडौं–हेटौंडा सुरुङमार्ग लगभग नबन्ने पक्का भएको छ । सरकारले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समयदेखि ओगटेर राखेको काठमाडौं–हेटौंडा सुरुङमार्गलाई खारेज गर्ने बताएपछी सुरुङमार्ग नबन्ने पक्का भएको हो ।
यो कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनु पर्ने हो तर, अहिलेसम्म यसले सुरुङ निर्माणका लागि खोस्रने काम समेत सुरुवात गरेको छैन ।
पछिल्लो पटक गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप साढे ३ वर्ष म्याद माग गरेको छ । तर, भौतिक पुर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरका अनुसार सरकारले कुनै पनि हालतमा म्याद नथप्ने र यसलाई खारेज नै गर्ने तयारी थालेको छ ।
मन्त्री बलायरले भने–‘निर्माण नगर्ने तर, जनतालाई आश मात्रै देखाउने काम गर्न पाइँदैन । त्यसैले हामीले यसलाई खारेजीको प्रक्रियामा लगेका हौं ।’ पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो ।
लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नुपर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन ।
मुख्य लगानी जुटाउने पाटोमै समस्या भएपछि कम्पनीका अन्य कामहरु शुन्य प्राय छन । कम्पनीले डिपिआर भने बुझाइसकेको छ, जसका आधारमा नै निर्माणको स्वीकृति पाएको हो ।
यो आयोजना ३७ अर्बमा बन्ने आँकलन गरिएको थियो । म्याद थप गर्दै गत फागुनमा मन्त्रालयमा बुझाएको रिपोर्टमा भने ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख गरिएको छ ।
गाईभैँसी बेचेर लगानी गरेको जनताको पैसा के हुन्छ त ?
पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम जुटाएको थियो । तर, जनताबाट उठाएको रकम पनि कर्मचारीले घुमघाममै सकाएका छन् ।
बैंक ग्यारेन्टीका लागि राखेको ३ करोड बाहेक अन्य रकम लगभग खर्च भइसकेको छ । जनताको पैसा के कसरी फिर्ता गराउने भन्ने बारेमा भने सरकारसँग कुनै योजना छैन । मन्त्री बलायरले रकम फिर्ता गराउने सन्दर्भमा छलफल हुन बाँकी रहेको बताएका छन ।
काठमाडौं–हेटौंडा सडकखण्ड २२७ किलोमिटर छ । यो सुरुङमार्ग निर्माण भएमा एक घन्टामै काठमाडौंबाट हेटौंडा पुगिने पूर्वाधार विकास कम्पनीको दाबी रहेको छ ।
तर, अहिले सरकार आफैंले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माण सुरु गरिसकेको छ । द्रुतमार्ग बनेमा काठमाडौं–हेटौंडा सुरुङमार्ग आवश्यक नपर्ने विज्ञहरु बताउँछन् ।
किन असफल भयो काठमाडौं–हेटौंडा सुरुङमार्ग ?
सुरुङमार्ग निर्माणका लागि सहज हुने देखेर नै सुरुमा उद्योगपति कुशकुमार जोशीलाई कम्पनीको अध्यक्ष बनाइएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष जोशीलाई अध्यक्ष बनाउँदा सहजै लगानी जुट्ने अनुमान थियो ।
हेटौंडाका जनताले पनि लगानी गर्न तप्परता देखाए । गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेरसमेत हेटौंडाबासीले यो कम्पनीलाई रकम बुझाएका थिए ।
तर, जोशीको कार्यकालमा कुनै प्रगति भएन । सुरुङमार्ग निर्माणभन्दा घुमफिरमै व्यस्त भए । परिवारिक घुमघाममा जनताबाट उठाएको पैसा प्रयोग गरेको आरोप लाग्यो ।
यति मात्रै होइन, जोशीले पूर्वाधार विकास कम्पनीलाई आफ्ना नातेदार भर्ना गर्ने थलो समेत बनाए । आवश्यकभन्दा बढी कर्मचारी राखेका कारण नै जनताबाट उठाएको पैसा सकियो ।
अनावश्यक कर्मचारी राखेपछि कम्पनीका तत्कालिन सञ्चालक एवं ठेकेदार, जो सोमबार वनमन्त्री बनेका छन, विक्रम पाण्डे आयोजनाबाट बाहिरिए । उनी निस्किएपछि पनि पूर्वाधार विकास कम्पनीको कलह अन्त्य भएन ।
पाण्डे बाहिरिएपछि लालकृष्ण केसी र जोशीबीच टकराव सुरु भयो । एकातिर काम नहुने र अर्कोतिर रकम सकिएपछि हेटौंडाका लगानीकर्ता आन्दोलनमा उत्रिए र जोशी कम्पनीको अध्यक्षबाट हटाइए ।
नयाँ अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट आए । तर, उनले पनि राजीनामा दिइसकेका छन् । त्यसपछि अध्यक्ष बनेका लालकृष्ण केसीले पनि लगानी जुटाउन सकेका छैनन् । र, अब परियोजना नै खारेज गर्ने प्रक्रिया सुरु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्