नेपाल आयो सुरुङ खन्ने उत्कृष्ट चिनियाँ प्रविधि
चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ । नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो ।
चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स पूरा भएको थियो । त्यहाँबाट गत सेप्टेम्बर २ मा नेपाल प्रवेश गर्ने गरी सबै भन्सार प्रक्रिया पनि पूरा गरिएको थियो ।
तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५.०६ मिटर छ भने नेपाल सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै शाङ्हाईबाट निर्माण गराएको हो ।
भेरी बबई डाइभर्सन परियोजनामा १२ किलोमिटर लामो सुरुङ खन्न यो मेशिन ल्याइएको बताइएको छ । टनेल बोरिङ मेशिन परियोजनास्थल पुगिसकेको छ । परियोजना प्रमुख शीवकुमार बस्नेतका अनुसार २५० मिटर लामो यो मेशिन जडान गर्न करिब दुई महिना लाग्नेछ । नेपालमा कुनै परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो ।
भेरी बबई सिचाई तथा जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना हो, जसलाई रणनीतिक महत्व दिएर सरकारले निर्माण कार्य अगाडि बढाइरहेको छ । १५ मिटर अग्लो यो ड्यामबाट प्रतिसेकेण्ड ४० क्यूविक मिटर पानी भेरीबाट बबई नदीमा फाल्ने योजना छ ।
त्यस्तै नेपाल पठाउनका लागि अहिलेसम्म २४ वटा ठूला ट्रक पनि चीनबाट शिपिङ गरिँदैछ । ती ठूला ट्रकहरूमा ५० टन सामग्री लाद्न सक्ने क्षमता छ । यस्ता ट्रकहरू १४ मिटर लामा र ४ मिटर चौडाइका छन । नेपालको पारवहन विभाग, नेपाल प्रहरी, राष्ट्रिय वन विभाग तथा अन्य पहाडी मार्गका सम्बन्धित निकायको समन्वयमा सेप्टेम्बर १५ सम्ममा सबै परियोजनास्थलसम्म पुगिसक्ने जनाइएको छ ।
टनेल बोरिङ मेशिनले नेपालको उत्खनन् क्षेत्रमा ठूलो अपेक्षालाई साकार तुल्याउने छ । सुरुङभित्र आफै खन्दै बाटो बनाउँदै सर्प झैँ घिस्रिँदै अगाडि बढ्ने यो मेशिन विकसित देशहरूमा खासगरी भूमिगत मेट्रो रेलमार्ग निर्माणमा प्रयोग गरिन्छ । त्यस्तै जलविद्युत आयोजना वा खानेपानी आयोजनाको सुरुङ खन्न पनि यो मेशिन प्रयोग गरिन्छ ।
निर्माण परियोजनामा १२ किलोमिटर गहिराइसम्म खन्ने क्षमता भएका यस्ता मेशिनले विकासको मार्गमा अघि बढेको नेपाललाई ठूलो सहायता पुग्नेछ । यसबाट नेपाल–चीन मैत्री सहयोगमा नयाँ आयाम पनि थपिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्