सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अरुलाई कारबाही हुन्छ, प्रधानमन्त्रीलाई गर्न मिल्दैन

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।

उनले भने,‘चुनावमा उम्मेदवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरुको उम्मेदवारी नै खारेजसम्म गरिदिन्छौं ।’

यद्धपी उनले मधेशमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धारणा राखेका छन । रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले उम्मेदवारहरुले खर्च गरेको भए ती उम्मेदवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन ।

निर्वाचन आचारसंहिता जारी भएको अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमा आयोगको पूर्ण ध्यानाकर्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखेका थिए ।

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, उहाँ कार्यकारी हो, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन, तर यसको मतलव आयोग निरीह भने छैन ।’

आयोगको ध्यानाकर्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले जनाएका छन । यादवले अघि भने,‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता भएको हो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवाद गर्न चाहँदैन ।’

यस्तै उनले निर्वाचन आचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताएका छन । उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ ।’

यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरेका छन । उनले भने,‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भएपनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्