सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पसुपतिको जग्गा भाडा प्रति आना ९ रुपैयाँ ५० पैसा

पर्यटकीय क्षेत्र चाबहिल–बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोलपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ ।

कोषले व्यापारिक निकाय हायात होटललाई एक आना जग्गा लिजमा दिएबापत मासिक नौ रुपैयाँ ५० पैसा भाडा लिइरहेको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । कोषले उक्त होटललाई १८ रोपनी जग्गा भाडामा दिएको छ । तर, यसबापत कोषले प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ मात्रै पाउँदै आएको छ ।

निजी स्वामित्वको विलासी पाँचतारे (डिलक्स फाइभ स्टार) होटल हायात रिजेन्सीले कोषअन्तर्गत अमालकोट कचहरीको स्वामित्वमा रहेको उक्त जग्गा कौडीको मूल्यमा भोगचलन गरिरहेको फेला परेको छ ।

आराध्यदेव पशुपतिनाथको नाममा राखिएको उक्त जग्गा चलनचल्तीको मूल्यमा खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा लगाउँदा पशुपति क्षेत्रको विकासका निम्ति उल्लेख्य स्रोत जुट्न सक्ने प्रति अहिलेसम्म कसैले ध्यान दिएको पाइँदैन ।

प्रतिमहिना प्रतिआना कम्तीमा १० हजार रुपैयाँ प्राप्त हुनेमा कोषले हायातसँग नौ रुपैयाँ ५२ पैसा मात्रै लिँदै आएको छ । होटलले नौ कित्ताको करिब १८ रोपनी गुठी जग्गा प्रयोग गरेबापत वार्षिक ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको छ ।

मुलुककै सबैभन्दा महँगो होटलमा गनिने हायातले प्रतिरात प्रतिकोठा झन्डै सोही रकम असुल्ने गर्छ । होटलले कोषलाई दिने तिरो ०६८ सालमा ५० गुणा वृद्धि गरी यति र्पुयाइएको हो । कोषले प्रतिरोपनी जग्गाको एक मुरी (२० पाथी) धानका हिसाबले जग्गा लिजमा लगाएको हो ।

जसअनुसार १८ रोपनीको मात्रै अठार मुरी धानको मूल्य हायातले कोषलाई तिरे पुग्छ । कोषका अनुसार उक्त जग्गामा तारागाउँ विकास समितिको मोही कायम छ । समितिले हायात रिजेन्सीलाई जग्गा प्रयोग गर्न दिएको हो । पशुपति गुठी मुलुककै सबैभन्दा धनी गुठी हो । जसअन्तर्गत करिब ५ सय रोपनी जग्गा छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका कतिपय गुठी जग्गाको तिरो जंगबहादुर राणा, गीर्वाणयुद्ध, वीरशम्शेर, रणबहादुर शाहलगायतले जे–जति तोके त्यत्तिमै सीमित रहेको पाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्