सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

शुक्रबार रातिबाट फेसबुक, भाईबरमा मौन अवधी

स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर दुईमा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनाव प्रचार प्रसार वा भोट माग्न पाईने छैन ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चारजगत कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैनन् ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालबाट समेत भोट माग्न र चुनाव प्रचार गर्न रोक लगाइएको छ ।

आयोगले बिहीबार सूचना जारी गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निम्न बमोजिम आचरण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

मौन अवधिमा के–के गर्न पाइँदैन ?

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ ।

३. एस.एम.एस., फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन ।

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन ।

५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS