इन्जिनियरलाई विप्लव कार्यकर्ताको जुत्ताको माला
नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई मोबिल (कालोमोसो) खन्याएर दुव्र्यवहार गरेका छन् । आफ्नो कार्यकक्षमा रहेका ढुङ्गानामाथि आइतबार विप्लवका कार्यकर्ताले मोबिल खन्याइदिएका हुन् ।
मोबिल खन्याएपछि उनीहरुले ढुङ्गानाको घाँटीमा जुत्ताको माला समेत लगाइदिएका थिए । चार जनाको संख्यामा आएका उनीहरु तत्कालै भागेको बताइएको छ । कार्यालय परिसरमा छाडिएको पर्चामा इञ्जिनियर ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको उल्लेख गरिएको छ ।
उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेको लगायतका आरोप लगाइएको छ । घटनामा संलग्न नेकपाका कार्यकर्ताको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयमा रहेको सीसीटीभी हेरेर घटनामा संलग्नको पहिचान गरिने प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख वासुदेव खतिवडाले घटनामा संलग्नहरुको खोजी भए पनि अहिलेसम्म कोही पक्राउ नपरेको जानकारी दिएका छन ।
इञ्जिनियर ढुङगानाले भने केही दिनअघि विप्लवका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको दाबी गरेका छन् । ढुङ्गाना माओवादीकी नेतृ पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीका ज्वाइँ हुन् ।
उनलाई तीजका बेलामा नगरपालिकाको सवारी साधन ससुराली लगेको भनेर केही वर्षअघि जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण समेत मागेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्