सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पक्राउ परे रञ्जुबारे बलात्कारको खबर लेख्ने व्यक्ती

केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) बारेमा विवादास्पद समाचार प्रकाशित गर्ने एउटा अनलाईनका प्रकाशकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपालटक डट कमका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका नेपालटक सञ्चालक श्याम रोका

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताएका छन् । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको भनेर समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS