सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश नं. २ मा सुरु भयो मतदान, सुरक्षा कडा

प्रदेश नम्बर २ मा आज स्थानीय तहको मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं.२ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ ।

मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेका छन । यसअघि अन्य ६ ओटा प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो ।

राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो । प्रदेश नं.२ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् ।

निर्वाचन आयोगका अनुसार, ६ हजार ६ सय २७ पदका लागि त्यहाँ हुन लागेको निर्वाचनमा ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतमार्फत यी उम्मेद्वारहरु मध्येबाट आफ्ना प्रतिनिधि चुन्नेछन् ।

मतदाताले कुनै कारणवश तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिएका छन ।

आयोगका अनुसार, नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएको तस्बिरसहितको अन्य परिचयपत्रका आधारमा समेत मतदान गर्न पाइनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्