के गगन थापा बन्लान प्रदेश नं. ३ का मुख्यमन्त्री ?
एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेको समाचार बाहीर आएका बेला कांग्रेसमा पनि प्रदेश सभाको चुनाबका बारेमा छलफल सुरु भएको सुचनाहरु बाहीरीन थालेका छन ।
कांग्रेसमा अनौपचारिक रुपमा प्रदेश सभाको मुख्यमन्त्रीको उम्मेदवारका बिषयमा छलफल सुरु भएको छ । प्राप्त जानकारी अनुसार पुर्व स्वास्थ्य मन्त्री तथा कांग्रेसका नेता गगन थापाले प्रदेश नं. ३ को मुख्यमन्त्रीको उम्मेदवारका लागी दाबी गरेको भन्ने खबर छ ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा उनी प्रदेशसभामा जान तयार भएका छन् ।
नेता थापाले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानुपर्ने र आफू ३ नम्बर प्रदेशको दाबेदार भएको सन्देश पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुर्याएको बताइएको छ ।
स्थानीय चुनावको मतलाई हेर्दा प्रदेश नं. ३ मा कांग्रेसले एमालेले भन्दा एक लाख कम भोट पाएको छ । तर, संविधानसभामा कांग्रेस नै पहिलो पार्टी रहेको र मेहनत गर्ने हो भने प्रदेश नं. ३ मा फेरि पहिलो पार्टी हुनसक्ने गगन थापाको विश्लेषण रहेको छ ।
प्रदेश नं. १ मा विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो संविधानसभामा उनी पराजित भएका थिए । तर, १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनी प्रदेश नं. १ का चर्चित युवा अनुहार हुन् ।
प्रदेश २ मा स्थानीय तहको चुनाव भइरहेकाले मुख्यमन्त्रीको दाबेदारबारे खासै छलफल भएको छैन । तर, केन्द्रीय सदस्य आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव लगायतका नेताहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
प्रदेश नं. ४ मा धनराज गुरुङ, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतका युवा नेताहरुको नाम चर्चामा छ । प्रदेश नं. ५ का लागि कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवारका मुख्य दावेदार बालकृष्ण खाँड हुन् ।
प्रदेश ६ मा जीवनबहादुर शाही मुख्यमन्त्रीका दाबेदार हुन् । तर, सुर्खेतका हृदयराम थानीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्थानीय तहको चुनावमा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादीले झण्डै बराबर स्थानीय तह जितेका छन् ।
प्रदेश नं. ७ मा रमेश लेखक सम्भावित उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार हुँदा पार्टीभित्र सर्वसम्मत हुनेछन् । तर, केन्द्रीय राजनीतिमा स्थापित भइसकेका उनी प्रदेशमा जाने नजाने निश्चित छैन । उनको विकल्पका रुपमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर हुन सक्ने देखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्