सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोमल वली एमाले प्रवेश गर्दै, सांसद बन्ने पक्का

राप्रपाकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले कमल थापाको राप्रपा छाडेर एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको अधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल सोमबार अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

कोमल वलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको एमाले स्रोतले जनाएको छ । राना र वलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी वलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी वलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

कोमल वलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र वली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।

कोमल वली र बलिभद्र रानालाई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले नेता पोखरेल खटिएका थिए । रानालाई माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि माओवादी प्रवेश गराउन चाहेका थिए ।

गायिका कोमल वली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि वली कमल थापा समूहमा थिइन् भने रोखा चाहीँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् । ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।

कोमल वलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

उनी राप्रपामा पनि सांसद पाइने आशमा प्रवेश गरेकी थिइन् । तर राप्रपाको शक्ति कमजोर भएपछि उनले त्यहाँबाट आफ्नो भविश्यको सम्भावना नदेखेर दल परिवर्तन गरेको राप्रपाका एक नेताको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्