सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिनमा अब ‘सि जिनपिङवाद’, शक्तिशाली बने ‘सि’

चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी जिनपिङको विचारलाई विधानमै ‘सी जिनपिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ ।

पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई ’नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ ।

चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ ।

अन्तर्रािष्ट्रय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी गरेका छन् । माओपछि पनि चिनियाँ नेताहरूले आफ्ना विचारहरूलाई कम्युनिष्ट पार्टीको विधानमा राखेका थिए । तर माओपछि कसैको पनि विचारले ‘वाद’को रूप ग्रहण गरेको थिएन ।

‘सि जिनपिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बीबीसीकी चीन सम्पादक केरी ग्रेसीले टिप्पणी गरेकी छिन् ।

प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ । हप्ता दिन अगाडि सुरु भएको पार्टीको शक्तिशाली सम्मेलनलाई तीन घन्टा लामो सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए ।

‘नयाँ युग’ ले आधुनिक चीनको तेस्रो चरणलाई इंगित गर्दछ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाए ।

यो नयाँ युगमा सिले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित बनाएका छन् भने देशबाहिर सशक्त रुपमा प्रस्तुत गरेका छन् ।

एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख पनि चयन गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्