सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानबाट फर्किएका गुल्मीका चन्द्रमणिको केराखेति

गुल्मीका एक युवाले जापानबाट फर्किएर आफ्नै गाउँमा व्यावसायिक केरा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन । गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा रु. १० लाख आम्दानी गर्न सफल भएका छन ।

घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्ष पहिले आफ्नै खेतमा रु. ४० हजारको लगानीबाट २८० केराको बोट लगाएर केराखेति सुरु गरेका थिए । केराखेती वृद्धि भएर अहिले झण्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आगामी वर्ष केराबाट राम्रो आम्दानी हुने घिमिरेले बताएका छन ।

घिमिरे रोजगारीको सिलसिलामा विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समय जापानमा तीन वर्ष बिताएर स्वदेश फर्केका थिए । घिमिरेले अब विदेशको दुख छाडेर आफ्नै गाउँघरमा सानोतिनो व्यवसायको थालनी गरेको बताएका छन ।

घिमिरेले विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय गरी आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुँदा आफूलेजस्तै अन्य युवालाई आफ्नो सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सुझाव दिएका छन ।

घिमिरेले बिदेशमा जस्तै निरन्तर रुपमा मेहनत र परिश्रम गरेर आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन ।

व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै गर्दै आएका घिमिरेले आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोचमा बनाएका छन ।

घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुसे्र, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहेका छन ।

आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पु¥याउन नसकेको घिमिरेले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्