सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अरु डराएपछी केपी वलीविरुद्ध युवानेता विश्वप्रकाश

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष केपी ओलीका विरुद्ध झापा क्षेत्र नं. ५ मा युवानेता विश्वप्रकाश शर्मालाई उठाउने तयारी गरेको छ ।

कांग्रेस संसदीय समितिले बुधबारबाट दोस्रो चरणको टिकट वितरणबारे छलफल सुरु गरेको छ । नेताहरुका अनुसार झापा–५ मा शर्मालाई उम्मेदवार बनाउने तयारी भईरहेको छ । शर्माको आफ्नो क्षेत्र भने झापा १ हो ।

उनले यो पटक पनि त्यहीँ चुनाव लड्ने तयारी गरेका थिए । तर, पछिल्लो समय कांग्रेस नेतृत्वले शर्मालाई क्षेत्र नम्बर ५ मा जान प्रस्ताव राखेको छ । वाम गठबन्धनबाट झापा–५ मा ओली उम्मेदवार बन्दैछन् ।

उनीविरुद्ध चुनाव लड्न कांग्रेसका धेरै नेता तयार छैनन् । दोस्रो संविधानसभामा ओलीसँग चुनाव लडेका सुरेश सुब्बा समानुपातिकमा बसेका छन् भने ०६४ मा हारेका महेन्द्र सुब्बा पनि वलीसँग चुनाव लड्न तयार छैनन् ।

जिल्ला कार्य समितिले यो पटक झापा–५ बाट पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, दुबै नेताहरु ओलीविरुद्ध चुनाव लड्न तयार नभएपछि शर्मालाई अघि सार्न लागिएको हो ।

अन्य नेताहरु वलीसँग चुनाव लड्न डराए पनि युवानेता विश्वप्रकाश शर्मा भने ओलीसँग चुनाव लड्न तयार देखिएका छन् । कमजोर उम्मेदवार उठाउँदा एमाले अध्यक्ष ओली आफ्नो चुनाव क्षेत्र छाडेर अन्यत्र चुनाव प्रचारमा जान सक्छन् ।

यदि विश्वप्रकाशलाई उम्मेदवार बनाउने कडा प्रतिस्पर्धा हुने र उनी आफ्नै चुनाव क्षेत्रमा केन्द्रित हुनुपर्ने अवस्था आउने कांग्रेसको विश्लेषण छ । यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिकाका साथै गौरादहको १ देखि ८ नम्बर वडा र गौरीगञ्ज गाउँपालिकाका ३ देखि ६ वडाहरु पर्छन् ।

हालै सम्पन्न स्थानीय चुनावमा दमक नगरपालिका एमालेले जितेको छ भने कमलमा कांग्रेस र एमालेले समान मत पाएपछि गोलाप्रथाबाट एमाले विजयी भएको थियो । यस्तै गौरादहमा कांग्रेस र गौरीगञ्जमा राप्रपाले स्थानीय तहको प्रमुख जितेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्