दिपक मनाङेको क्षेत्रमा एमालेको उम्मेद्वारी फिर्ता
स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिएका गुण्डा नाईके दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएकी छन् ।
उनले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई नै रहेको बताएकी छन् । मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएको पुष्टि गरेका छन ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर बुधबार दिउँसो पौने १ बजे उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेको थियो ।
तर, राजिव गुरुङ उर्फ मनाङेले मनाङबासी नागरिकले आफूलाई जिताउने भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए । स्वतन्त्र उम्मेदवार राजीव गुरुङले पार्टीका आधिकारिक उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछि उनी समर्थकले आफूलाई सघाउने र जित सुनिश्चित भएको दाबी गरेका छन ।
मनाङेले भने–‘मेरो पारिवारिक भोट यसै छ । पार्टीका सबै तहतप्काले भोट दिएपछि मेरो जित सुनिश्चित छ । सहरले सोंचेजस्तो यहाँ छैन । पार्टीले महिलालाई उठाए पनि भौगोलिक हिसाबले निकै गाह्रो छ । त्यसैले दिदीले फिर्ता लिनुभो’ उनले भने, ‘हामी सबै एउटै हाँैं । सबै मिलेर अघि बढ्ने हो ।’
राजीव गुरुङ र खाण्डा लामा गुरुङको नाता दिदीभाइ पर्छ । उनका अनुसार माथिल्लो मनाङमा पार्टी नै भनेर लाग्ने मान्छे कम छन् । नातेदार बढी हुनेले नै चुनाव जित्छन् ।
खाण्डा लामा गुरुङले फिर्ता लिएसँगै अब मनाङ प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार कर्मा गुरुङको प्रतिस्पर्धा हुनेछ । केही साताअघि मात्रै राप्रपाका सबै सदस्यसहित एमाले प्रवेश गरेका दिपक मनाङेले हिजोका राप्रपा, एमाले र परिवार सबैले सहयोग गर्ने भएकाले आफ्नो जितको विकल्प नभएको दाबी गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्