सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पृथ्वीचोकमा कसको शालिक ? पृथ्वीनारायण कि लखनको

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएर शहीद लखन थापाको शालिक राखिएको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।

शालिक पुनःस्थापना संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्र्तगत कात्तिक १० गते शुक्रबार मोटरसाइकल र्याली निकाल्ने, ११ गते पृथ्वीचोकमा जनसभा गर्ने र कात्तिक १५ गतेदेखि २० गतेसम्म महानगरपालिका परिसरमै रिले अनसन बस्ने घोषणा गरेको छ ।

त्यस्तै, कात्तिक २० गते साँझ मशाल जुलुश प्रदर्शन गर्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए कात्तिक २१ गतेदेखि अनिश्चितकालिन पोखरा उपत्यका बन्दको घोषणा गरेको छ ।

बन्द संस्कृतिको विरोधी भएपनि शान्तिपूर्ण आन्दोलनबाट आफूहरुको माग सुनुवाई नभए बन्द गर्न बाध्य हुने संघर्ष समितिका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षेत्रीले बताएका छन । संघर्ष समितिका संयोजक शंकर खरालले महानगरपालिकाले झुक्याएर लखन थापाको शालिक पुनःस्थापना गरेको आरोप लगाएका छन ।

‘हामीसँग कुरा गर्दा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङ दुबैले पोखराका कुनैपनि चोकमा शालिक नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो,’ उनले भने,’ तर, अहिले पृथ्वीचोकमा लखन थापाको शालिक पुनःस्थापना गरिएको छ, यो सरासर गलत हो, कि सबैको शालिक पुनःस्थापन हुनुर्पयो, कि त सबै शालिक अन्तै लानुर्पयो ।’

२०६२–६३ को आन्दोलनताका आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक ढालेपछी उक्त स्थानमा प्रथम सहिद लखन थापाको शालिक राखिएको थियो । स्थानिय तहको निर्वाचनपछी बाटो चौडा गर्ने क्रममा पोखरा महानगरपालिकाले पोखरा क्षेत्रका सबै शालिक हटाउने भन्दै लखन थापाको शालिक पनि हटाएको थियो ।

पछी मगर संघ लगायतका जनजाति संघ संस्थाले बिरोध गरेपछी महानगरपालिकाले लखन थापाको शालिक पनः पुनस्र्थापना गरेको छ । पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना संघर्ष समितिले यसअघि पोखरामा कसैको शालिक नराख्ने बताएको महानगरपालिकाले लखन थापाको शालिक पुनःस्थापना गरेपछी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्