गौचन हत्याका सुटर पक्राउ गर्न प्रहरी दिल्लीमा
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना–भिन्नै टोली अनुसन्धानमा जुटेपनि घटनाका बारेमा अहिलेसम्म प्रहरीले खासै उपलब्धि हाँसिल गर्न सकेको छैन । ‘अनुसन्धान भइरहेको छ’ भन्ने तर्क बाहेक प्रहरीले केही प्रगति विवरण बाहिर ल्याउन सकेको छैन ।
प्रहरी स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) को अनुसन्धान टोलीका सदस्य घटनाका मुख्य अभियुक्त मानिएका मनोज पुन, समिरमानसिंह बस्नेत र लोप्साङ राईलाई खोज्न दिल्ली पुगेको छ भने डिआईजी गणेश केसीको छानविन समितिले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी प्रहरीको विशेष ब्यूरो र महानगरीय प्रहरी कार्यालयको टोलीले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । गौचनको प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का मित समिरमानसिंह बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने तर्फ प्रहरीको अनुसन्धान मोडिएको छ ।
एक महिना अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाएका गौचनमाथि त्यतिबेलादेखि नै बस्नेतको समूहले करोडौं रकम माग गरेको थियो । उक्त टेण्डर मिलाए वापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको स्रोतको भनाई छ । सोही रकमको भागवण्डा नमिलेपछि ठेकेदारकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको स्रोतको दावी छ ।
महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका ठेकेदार सन्तोष गौतमले गुण्डा नाइके बस्नेतको प्रयोग गरेर बिगत एक महिनादेखि गौचनलाई तीन करोडको अफर गरेका थिए । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिँदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको एक ठेकदारले बताएका छन ।
गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् । प्रहरी इन्काउन्टरमा मारिएका घैंटेका पार्टनरका रुपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाईकेलाई सहयोग र दुरुपयोग गर्दै आएका छन् । हेटौडाबाट काठमाडौं छिर्दा आर्थिक स्रोत जुटाउन धौं–धौं परेका गौतमले घैंटेलाई प्रयोग गरेर मात्र १० करोडको हाराहारीमा सम्पत्ति जोडेका छन् ।
सिन्धुलीका एक ठेकेदारमार्फत घैंटेसम्म सम्बन्ध विस्तार गरी गजुरमुखी कम्पनीको नाममा रकम असुल्दै आएका गौतमले बस्नेतलाई सहयोग गरी दुरुपयोग समेत गर्दै आएको महासंघ स्रोत बताउँछ । बाफल, स्वयम्भू र कलंकी क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका बस्नेत घैंटेको इन्काउन्टर भए लगत्तै भारतको नयाँ दिल्लीमै बसेर नेपाली व्यवसायीबाट रकम असुली गर्दै आएका छन् ।
रुपेन्देही युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा जोडिएका बस्नेतलाई गौतमले प्रहरीसँग निकट भई बस्नेतविरुद्ध प्रहरीले गरेको अप्रेशनको सूचनासम्म चुहाउने गरेको स्रोतको दाबी छ । तिवारीको हत्या पछि पुन भारतमा लुकेर बसेकै बेला बस्नेतसँग चिनजान हुन पुगेको थियो ।
पछि यि दुई समूहले संयुक्त रुपमा नेपाली व्यवसायीबाट रकम असुल्दै आइरहेका छन् । ठेकेदार गौतम, अपराध महाशाखा र सिआईवीका केही प्रहरीबाटै सूचना लिक भएपछि बस्नेत भूमिगत बनेको प्रहरी स्रोत बताउँछ ।
त्यसो त, गौतमको केही प्रहरी अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको छ । गौतम केही समय अगाडि अपराध महाशाखाका तत्कालिन एसएसपी दिनेश अमात्य र काठमाडौं परिसरका तत्कालिन प्रमुख छविलाल जोशीसँग निकट हुन पुगेका थिए । गौतमको त्यतिबेला अमात्य र जोशीसँगको उठबसलाई कतिपय प्रहरीहरुले रहस्यमय मानेका थिए ।
स्रोतका अनुसार अमात्यलाई प्रयोग गरि गौतमले घैटेको फसेको केही पैसा समेत उठाउन सफल भएका थिए । प्रहरी स्रोत भन्छ–‘गौतम उनै व्यक्ति हुन, जस्को घैटेको लगानी रहेको गजुरमुखी कम्पनीमा शेयर छ भने उनले निर्माणका टेन्डरको रकम गौचनसँग लिएर गुण्डा र प्रहरीलाई छुट्याउन लगाइ भागवन्डा गर्दै आएका थिए ।’
गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत बताउँछ । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालिन प्रमुख सर्वेन्द्र खनालले उनीमाथि निगरानी राखेका थिए ।
घैंटेको श्रीमती पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रुपैयाँ भएको दाबी गर्दै आएकी छिन् । तर, गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्र्याएका थिए ।
बस्नेतको समूहले घैंटे इन्काउन्टरमा संलग्न केही प्रहरी अधिकारीमाथि नै आक्रमण गर्ने योजना बनाएको खुलेपछि यतिखेर अपराध महाशाखाले बस्नेत समूहका क्रियाकलापमाथि गोप्य रुपमा निगरानी थालेको छ
फेसबुकबाट कमेन्ट गर्नुहोस्